चितवन दुग्ध उत्पादक सहकारी संघको अध्यक्षमा पुनः किशोर बगाले

एटुजेड समाचार

चितवन – चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको अध्यक्षमा किशोर बगाले पुनः सर्वसम्मत निर्वाचित भएका छन्। संघको नयाँ कार्यसमितिका लागि भएको चयन प्रक्रियाबाट बगाले दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

संघको उपाध्यक्षमा रामेश्वरसिंह ओली, सचिवमा कल्याण अधिकारी र कोषाध्यक्षमा शिवप्रसाद पौडेल सर्वसम्मत चयन भएका छन्। निर्वाचन समितिका संयोजक वामदेव अधिकारीका अनुसार कार्यसमिति सदस्यमा युवराज थापा, श्यामचन्द्र रैला, कल्पना आचार्य, कोपिला दाहाल र किशोर पौडेल निर्वाचित भएका छन्।

त्यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजकमा कृष्णप्रसाद भण्डारी चयन भएका छन्। समितिको सदस्यमा बलराम अधिकारी र तेजकुमारी काफ्ले रहेका छन्।

पुनः अध्यक्षमा निर्वाचित बगालेले चितवनको दुग्ध क्षेत्रलाई देशकै नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। संघले वि.सं. २०८७ सम्मका लागि योजना तयार गरिसकेको जानकारी दिँदै उनले दुग्ध क्षेत्रको विकासका लागि थप रणनीतिक काम अघि बढाउने बताए।

संघले दूधको विविधीकरणसँगै दुग्ध उद्योग, दाना उद्योग र मार्टसमेत सञ्चालन गर्दै आएको उल्लेख गर्दै बगालेले यी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउने बताए। उनले दुग्ध उत्पादक किसानको हित संरक्षण गर्दै उत्पादन, प्रशोधन तथा बजारीकरणका क्षेत्रमा सुधार गर्न आवश्यक पहल गरिने प्रतिबद्धता जनाए।

चितवनको दुग्ध क्षेत्रलाई देशका अन्य जिल्लाले समेत अनुकरण गर्न सक्ने नमुनाका रूपमा विकास गर्ने लक्ष्य रहेको बताउँदै बगालेले किसानको हित र समग्र दुग्ध क्षेत्रको उन्नतिलाई प्राथमिकतामा राखेर काम गर्ने बताए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु