सुनसरी- सुनसरीको कोशी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
कोशी गाउँपालिका–२ स्थित काली मन्दिरनजिकैको भित्री सडकखण्डमा सोमबार दिउँसो मोटरसाइकलको ठक्करबाट स्थानीय ४५ वर्षीया कौसिला यादवको मृत्यु भएको हो ।
प्रहरीका अनुसार दिउँसो करिब १ः५५ बजे को २७ प २८५५ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी यादवलाई ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी यादवलाई उपचारका लागि विराटनगर लैजाने क्रममा दिउँसो ३ः१० बजे बाटोमै मृत्यु भएको हो ।
दुर्घटनापछि प्रहरीले मोटरसाइकल र चालक बराहक्षेत्र नगरपालिका–७ निवासी करिब २१ वर्षीय सुमन सदालाई नियन्त्रणमा लिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


