काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। निर्वाचन समितिको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ चन्द्र भण्डारी र मधु आचार्य विजयी भएका छन् भने समावेशीतर्फ विनोदकुमार निर्वाचित भएका छन्।
यसैगरी, महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी हुँदा महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) बाजी मार्न सफल भएकी छन्।
उपसभापति खुलातर्फको मतगणनामा चन्द्र भण्डारी ३ हजार ७३५ मत प्राप्त गर्दै पहिलो स्थानमा विजयी भएका छन् भने मधु आचार्यले २ हजार ३४२ मत ल्याएर जित हासिल गरेका छन्। यसै समूहमा प्रतिस्पर्धा गरेका गोविन्द भट्टराईले १ हजार ७५२, सुरेन्द्रराज पाण्डेले १ हजार ६७३, धनराज गुरुङले १ हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन्।
उता, उपसभापति समावेशीतर्फको एक पदमा विनोदकुमार चौधरी १ हजार ७४५ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले १ हजार ६५८ मत ल्याएका छन्। यसैगरी, सोही पदका अन्य उम्मेदवारहरू फरमुल्लाह मंसुरले १ हजार १४४, सीता गुरुङले १ हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन्।
महामन्त्री खुलातर्फको प्रतिस्पर्धामा प्रदीप पौडेलले ४ हजार १९४ मत ल्याएर पहिलो स्थानमा विजय हासिल गरेका छन् भने उदयशमशेर राणाले २ हजार ३३० मत प्राप्त गरी महामन्त्रीमा निर्वाचित भएका छन्।
अन्य उम्मेदवारहरूमध्ये डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुन मगरले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरेका छन्।
त्यसैगरी, महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार १११८ मत प्राप्त गर्दै निर्वाचित भएकी छन्। उनकी निकटतम प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत प्राप्त गर्दा रीता खनालले ८०४ मत प्राप्त गरेकी छिन्।


