काठमाडौं। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय महामन्त्री पदको मतगणना सम्पन्न भई अन्तिम परिणाम सार्वजनिक भएको छ।
ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा सम्पन्न मतगणनाअनुसार खुला महामन्त्रीतर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन् भने महिला महामन्त्रीतर्फ डा. डिला संग्रौला (पन्त) निर्वाचित भएकी छन्।
खुला महामन्त्री पदका दुई सिटका लागि भएको प्रतिस्पर्धामा प्रदीप पौडेल सर्वाधिक ४ हजार १९४ मत प्राप्त गरी पहिलो स्थानमा विजयी भए। यस्तै, उदयशमशेर राणा २ हजार ३३० मत प्राप्त गर्दै महामन्त्री पदमा निर्वाचित हुन सफल भए।
खुलातर्फका अन्य उम्मेदवारहरूमा डा. सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा. सन्तोष उपाध्यायले ९७ मत प्राप्त गरे।
महिला महामन्त्रीतर्फको एक पदमा डा. डिला संग्रौला (पन्त) ३ हजार ११८ मत प्राप्त गरी विजयी बनेकी छन्। उनकी मुख्य प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ मत ल्याउँदा रीता खनालले ८०४ मत प्राप्त गरिन्।
यसै महाधिवेशनबाट उपसभापति खुलातर्फ डा. चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य तथा समावेशी उपसभापतिमा विनोदकुमार चौधरी निर्वाचित भइसकेका छन्। महामन्त्री पदको अन्तिम नतिजा आएसँगै कांग्रेसको १५औँ महाधिवेशनमार्फत नयाँ पदाधिकारी टोली चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ।


