चितवन – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने क्रममा जिल्लाका तीन हजार ३६२ जना मतदाताको नाम नामावलीबाट हटाएको छ । जिल्ला निर्वाचन अधिकारी भीमसेन कार्कीका अनुसार निर्वाचन आयोग नेपालको स्वीकृत कार्यक्रमअनुसार जिल्लाभरि गरिएको नामावली छानबिनका क्रममा दोहोरो दर्ता भएका, मृत्यु भएका र नागरिकता परित्याग गरेका व्यक्तिको नाम हटाइएको हो ।
उनले भने, “यही असोज १ गते नामावली प्रकाशन गरी २ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम, २०८३ बमोजिम स्थानीय तहबाट मृत्यु भएका व्यक्तिको विवरण र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता त्यागसम्बन्धी विवरण मागगरी मतदाता नामावलीबाट नाम हटाइएको हो ।” कार्कीका अनुसार दोहोरो दर्ता भएका एक हजार ९४३, मृत्यु भएका एक हजार ३८० र नागरिकता परित्याग गरेका ३९ जनाको नाम मतदाता नामावलीबाट हटाइएको छ ।
हटाइएका मतदाताको नाम, ठेगाना र मतदाता परिचयपत्र नम्बरसहितको विस्तृत विवरण कार्यालयले सार्वजनिक गरेको उनले जानकारी दिए । हटाइएका नामका सम्बन्धमा कुनै दाबीविरोध वा जिज्ञासा भए आवश्यक प्रमाणसहित कार्यालय समयमा जिल्ला निर्वाचन कार्यालय, चितवनमा सम्पर्क गर्न अनुरोध गरिएको उनले बताए । कुल चार लाख ४२ हजार ८२ जना मतदाता रहेको जिल्लामा अद्यावधिकसहित अन्तिम मतदाता नामावली भने यसै महिनाको अन्त्यमा प्रकाशन गरिने कार्यालयले जनाएको छ ।


