काठमाडौं। नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै इन्टरनेट जडानमा छुट, वार्षिक प्याकेजमा थप एक महिना सेवा तथा सहुलियत दरका मोबाइल प्याकेजसहितको ‘दसैँ–तिहार अफर २०८३’ सार्वजनिक गरेको छ।
असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ फाइबर इन्टरनेट जडान गर्ने ग्राहकले ५०० रुपैयाँ जडान शुल्क छुट पाउनेछन्। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका वार्षिक प्याकेज खरिद गर्दा १२ महिनाको शुल्कमा १३ महिना सेवा उपलब्ध हुनेछ। भर्चुअल सेटटप बक्ससहितको प्याकेजमा एक हजार रुपैयाँ छुटको व्यवस्था पनि गरिएको छ।
मोबाइल ग्राहकका लागि ४९९ र ६९९ रुपैयाँका असीमित डाटा प्याकेज ल्याइएको छ। त्यस्तै, २०० रुपैयाँमा सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने एक हजार मिनेट र ९९ रुपैयाँमा नेपाल टेलिकमकै नेटवर्कभित्र पठाउन मिल्ने एक हजार सन्देशको प्याकेज पनि उपलब्ध हुनेछ। यी मोबाइल प्याकेजको अवधि ३० दिनको हुनेछ।
मोबाइल अफर असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले 141511# डायल गरेर वा नेपाल टेलिकमको मोबाइल एपमार्फत प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ।


