कांग्रेस महाधिवेशन : ७,११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

एटुजेड समाचार

काठमाडौँ — कांग्रेसको १५औँ महाधिवेशनमा ७ हजार १ सय १४ प्रतिनिधिले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएका छन् । निर्वाचन समितिले राष्ट्रिय सभागृहमा कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण र उम्मेदवारी दर्ताको प्रक्रिया त्यहीँबाट गर्ने भएको छ ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटवालका अनुसार मंगलबारदेखि उम्मेदवारी दर्ता सुरु हुनेछ । यसपटक कांग्रेसले केन्द्रीय कार्यसमितिको आकार १ सय ६७ बाट बढाएर २ सय ९७ सदस्यीय बनाएको छ भने पदाधिकारी संख्या १४ बाट बढाएर २६ पुर्‍याएको छ ।

नयाँ व्यवस्थाअनुसार एक वरिष्ठ उपसभापति र एक महिला उपसभापति थपिएको छ । उपसभापति संख्या चार पुगेको छ । महामन्त्रीको संख्या तीन पुर्‍याइएको छ भने दुई खुला सहमहामन्त्री थपिएका छन् । यससँगै सहमहामन्त्रीको संख्या ११ पुगेको छ । प्रवक्ता पद पनि थप गरिएको छ ।

यसअघि १४औँ महाधिवेशनमा कांग्रेसको केन्द्रीय कार्यसमिति १ सय ६७ सदस्यीय थियो र पदाधिकारी संख्या १४ थियो । यसपटक प्रतिनिधि संख्या र समावेशी सहभागिता बढेसँगै केन्द्रीय कार्यसमितिको आकार र पदाधिकारी संख्या पनि बढाइएको कांग्रेसले जनाएको छ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु