स्वस्थ मानिसहरूको रक्तचाप (ब्लड प्रेसर) पनि कतिपय अवस्थामा कम हुन्छ। केही मानिसहरूमा प्राकृतिक रूपमै रक्तचाप कम हुने गरेको पाइन्छ र उनीहरूको स्वास्थ्यमा यसको कुनै नकारात्मक असर पनि देखिँदैन।तर ‘पोस्चरल हाइपोटेन्सन’ भएको अवस्थामा उठेको ३ मिनेटभित्रै चक्कर लागेजस्तो महसुस हुन्छ। मस्तिष्कजस्ता मुख्य अङ्गहरूमा अक्सिजन सही तरिकाले पुग्न नसक्नाले यस्तो हुन्छ।यस लेखमा हामी पोस्चरल हाइपोटेन्सन भनेको के हो, यसका लक्षणहरू के-के हुन् र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिनेछौँ।
हुन सक्छ ‘पोस्चरल हाइपोटेन्सन’
लामो समयसम्म बसेको वा पल्टिएको अवस्थाबाट उठ्दा ३ मिनेटभित्रै अचानक रक्तचाप अत्यधिक कम हुन्छ। गुरुत्वाकर्षणको कारण खुट्टामा रगतको बहाव तीव्र हुने र मस्तिष्कसम्म सही तरिकाले रगत पुग्न नसक्नाले यस्तो हुन्छ।वृद्धवृद्धाहरूमा यस्तो अवस्था सिर्जना हुँदा लड्ने र गम्भीर चोटपटक लाग्ने जोखिम रहन्छ। यस्ता हुन्छन् लक्षणहरू :
चक्कर लाग्ने
टाउको गह्रौँ भएको महसुस हुने
अन्योल हुने
चक्कर लागेर लड्ने
वाकवाकी लाग्ने
आँखा धमिलो देखिने
ध्यान केन्द्रित गर्न नसकिने
हातहरू चिसो हुने र पसिना आउने
छिटोछिटो सास चल्ने
थकान महसुस हुने
लो ब्लड प्रेसरका पनि गम्भीर परिणाम
सामान्यतया उच्च रक्तचापलाई नै मुटुरोग वा अन्य धेरै रोगहरूको मुख्य कारण मानिन्छ। तर कम रक्तचाप (लो ब्लड प्रेसर) मा पनि यस्ता समस्याहरू निम्तिन सक्छन्:
मुटुसम्बन्धी रोग
शरीरमा रगतको मात्रा कम हुनु
गम्भीर सङ्क्रमण
हर्मोनसँग जोडिएका समस्याहरू
गम्भीर एलर्जी
यसरी गर्नुहोस् पोस्चरल हाइपोटेन्सनको व्यवस्थापन
टाउको उँचो बनाएर सुत्ने : सुत्ने समयमा आफ्नो टाउको २० देखि ३० डिग्रीसम्म उँचो राख्नुहोस्। यसबाट अचानक उठ्दा रक्तचाप कम हुने जोखिमबाट बच्न सकिन्छ।
बिस्तारै पोजिसन बदल्ने : आफ्नो पोजिसन बदल्दा हतार नगर्नुहोस्। यदि पल्टिरहनुभएको छ भने बिस्तारै बस्ने अवस्थामा आउनुहोस् र केही सेकेन्डपछि मात्र उभिनुहोस्।
ओछ्यानको सहारा लिने : सुतेको अवस्थाबाट उठ्नका लागि ओछ्यानको छेउ वा त्यहाँ भएको कुनै वस्तुको सहारा लिनुहोस्।
खुट्टाको सामान्य व्यायाम : खुट्टाको रक्तसञ्चारलाई सामान्य बनाउन हलुका स्ट्रेचिङ गर्नुहोस्। यसो गर्दा कुर्सी वा ओछ्यान समात्नुहोस्।
एक्कासि ननिहुरिने : ओछ्यानबाट उठ्ने बित्तिकै कुनै सामान उठाउन एक्कासि ननिहुरिनुहोस्। यसले कडा चक्कर ल्याउन सक्छ। सामान उठाउन लामो छडी वा डन्डाको प्रयोग गर्नुहोस्।
यो लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू केवल सामान्य जानकारीको उद्देश्यका लागि हुन्। यसलाई चिकित्सा सल्लाहको रूपमा लिनु हुँदैन। कुनै पनि प्रश्न वा समस्या भएमा सधैँ डाक्टरको सल्लाह लिनुहोस्।


