काठमाडौँ – पूर्वप्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई मध्यरातमा पक्राउ पुर्जीबिना नियन्त्रणमा लिइएको भनिएको घटनाप्रति जेनजी अभियन्ता मिराज ढुंगानाले आपत्ति जनाएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै जेनजीबाट सुरक्षा थ्रेट रहेको हवाला दिएर जबरालाई पक्राउ गरी सरकारले विधिको शासनको धज्जी उडाएको आरोप लगाएका हुन् ।
सरकारको कार्यशैली र ‘जेन–जी’ शब्दको प्रयोगमाथि गम्भीर प्रश्न उठाएका छन् । ढुंगानाले प्रश्न गरेका छन्, “त्यो ‘थ्रेट’ प्रधानमन्त्री जेनजी हुन् कि गृहमन्त्री जेन–जी ?” उनले आफूलाई जेनजीसँग जोड्ने ३६ वर्षीय प्रधानमन्त्री र ३९ वर्षीय गृहमन्त्रीतर्फ लक्षित गर्दै विधिको शासनको सबैभन्दा बढी धज्जी उनीहरूले नै उडाएको आरोप लगाएका छन्।
ढुंगानाले ‘जेनजी’ नामलाई सत्ता प्राप्तिको चुनावी हतियार मात्र बनाइएको दाबी गर्दै वर्तमान सरकारलाई वास्तविक ‘जेनजी सरकार’ नभई ‘सङ्क्रमणकालीन स्वार्थ समूहको सरकार’ का रूपमा चित्रण गरेका छन् । गैरजेनजी व्यक्तिहरूले यस नामको राजनीतिक दुरुपयोग गर्दा वास्तविक युवा पुस्ता र आन्दोलनको पहिचानमाथि नै आँच पुगेको उनको भनाइ छ।


