काठमाडौं – श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्ने प्रस्ताव राखेको छ । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८३ मा संशोधन राख्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) र श्रम संस्कृति पार्टीका सांसद आरेन राइले यस्तो प्रस्ताव राखेका हुन् ।
प्रस्तावित विधेयकको दफा १८ मा मूल ऐनको दफा २७ पछि २७क. थप गर्ने व्यवस्था छ । जहाँ भनिएको छ, ‘नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसारको रोकथाम र नियन्त्रणको लागि अन्तर्राष्ट्रिय सिमाना, अन्तर्राष्ट्रिय विमानस्थल र मानव बेचविखन तथा ओसारपसार सम्भावित स्थलमा निगरानीको व्यवस्था गर्नेछ ।’
निगरानी गर्दा मानव बेचबिखन वा ओसारपसारको कसुर भएको वा हुन लागेको शंका लागेमा निगरानी गर्न खटिएको अधिकारीले त्यस्तो सूचना अनुसन्धान गर्ने अधिकारप्राप्त अधिकारी वा नजिकको प्रहरी कार्यालयमा तुरुन्त दिनु पर्ने भनिएको छ ।
यही थप व्यवस्था गर्ने प्रस्तावमा संशोधन राखेर श्रम संस्कृति पार्टीले खुला सीमामा कडाइ गर्दै भिसा सिस्टम लागू गर्नुपर्ने प्रस्ताव राखेको हो । ‘खुला सीमानाहरूमा कडा गर्दै भिसा सिस्टम लागू गर्ने’ भनेर ऐनमा लेख्नुपर्ने श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र सांसद् आरेन राइको प्रस्ताव छ ।
सरकारले संगठित अपराधको रुपमा विश्वभर फैलिएको मानव बेचबिखनबाट प्रभावित व्यक्तिको आत्मसम्मान, स्वतन्त्रता र मौलिक हकको संरणक्ष गर्ने उदेश्यसहित विधेयक ल्याएको छ।
यो विधेयक महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले गत साउन १४ गते प्रतिनिधिसभामा दर्ता गरेकी थिइन् । जसमाथि प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भइसकेको छ । त्यसपछि सांसदहरूले विधेयकउपर संशोधन प्रस्ताव राखेका हुन् ।


