नारायणी नदीमा हालसम्मकै उच्च जलसतह, खतरा तहभन्दा २ मिटर ८९ सेन्टिमिटर माथि

एटुजेड समाचार

चितवन – लगातारको मुसलधारे वर्षाका कारण नारायणी नदीमा पानीको सतह हालसम्मकै उच्च विन्दुमा पुगेको छ। देवघाटस्थित जलमापन केन्द्रका अनुसार आइतबार मध्यान्ह १२ बजे नदीको पानीको सतह ११ मिटर ८९ सेन्टिमिटर पुगेको हो।

जलमापन केन्द्र स्थापना भएयता नारायणी नदीमा पानीको सतह यति माथि पुगेको यो पहिलो पटक भएको केन्द्रले जनाएको छ। यसअघि २०८१ असोज १२ गते ११ मिटर ६० सेन्टिमिटर पुगेको थियो। त्यस्तै, सोही वर्षको असार २२ गते नदीको सतह १० मिटर ४६ सेन्टिमिटर पुगेको थियो।

देवघाट जलमापन केन्द्रका सुमित अधिकारीका अनुसार यस वर्ष नारायणी नदीले यसअघिका सबै रेकर्ड तोडेको हो।

जलमापन मापदण्डअनुसार नारायणी नदीमा ७ मिटर ३० सेन्टिमिटरभन्दा माथिको जलसतहलाई सतर्कताको अवस्था मानिन्छ भने ९ मिटरभन्दा माथि पुगेमा खतरा तह मानिन्छ। हाल नदीको सतह खतरा तहभन्दा २ मिटर ८९ सेन्टिमिटर माथि पुगेको छ।

लगातारको वर्षाका कारण नदीको जलसतह थप बढ्न सक्ने सम्भावना रहेकाले नदी आसपासका बस्ती तथा तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु