अविरल वर्षाका कारण पहिरो खसेर पूर्ण रूपमा अवरुद्ध भएको हेटौँडा-भैँसे-भीमफेदी-सिस्नेरी-दक्षिणकाली सडकखण्ड सञ्चालनमा आएको छ।
आइतबार बिहान करिब ५ः०५ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटार, वडा नं. ६ जुरीखेत र इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी अवरुद्ध भएको थियो।
पहिरोका कारण सडक अवरुद्ध भएपछि इलाका प्रहरी कार्यालय भीमफेदी, प्रहरी चौकी भैँसे र प्रहरी चौकी सिस्नेरीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीले सडक विभागसँग समन्वय गरी पहिरो हटाउने काम अघि बढाएको थियो। तीनवटै स्थानको पहिरो हटाएपछि बिहान ९ः०५ बजेदेखि सडक पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा आएको प्रहरीले जनाएको छ।
लगातार वर्षा भइरहेकाले उक्त सडकखण्डमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेकाले सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ।


