अविरल वर्षाको वितण्डा: सप्तरीमा ५०० भन्दा बढी घर डुबानमा

एटुजेड समाचार

सप्तरी। देशका विभिन्न भागमा परेको लगातारको अविरल वर्षाका कारण जनजीवन प्रभावित भएको छ। तराई र पहाडी क्षेत्रमा परेको झरीका कारण बाढी र पहिरोले व्यापक क्षति पुर्‍याएको छ।

सप्तरी जिल्लामा अविरल वर्षा र खोलामा आएको बाढीका कारण हनुमाननगर कंकालिनी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिकामा ५०० भन्दा बढी घरहरू डुबानमा परेका छन्। यसबाट दुई हजारभन्दा बढी परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।

प्राप्त विवरण अनुसार हनुमाननगर कंकालिनी नगरपालिकाका वडा नम्बर ५, ७, १२ र १३ का बस्तीहरूमा बाढी पस्दा ४८३ घर डुबानमा परेका छन्। यस्तै तिलाठी कोइलाडी गाउँपालिकाका वडा नम्बर ४ र ५ मा १७ वटा घर डुबानमा पर्दा करिब दुई हजार नागरिक प्रभावित हुन पुगेका हुन्।

शुक्रबार राति सप्तकोशी नदीमा पानीको बहाव र सतह एक्कासि बढेपछि बस्तीहरूमा बाढी प्रवेश गरेको हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख वीरेन्द्र माझीले जानकारी दिए।

उनका अनुसार बाढीबाट विस्थापित र प्रभावित भएका नागरिकहरूका लागि नगरपालिकामार्फत तत्कालका लागि बिहान र बेलुका दुई छाक पकाएको खानाको प्रबन्ध गरिएको छ। बाढीको सतह केही घटिसकेपछि वास्तविक पीडितहरूको पहिचान गरी थप राहत सामग्री वितरण गरिने प्रमुख माझीले बताए।

यसैगरी, बागलुङ जिल्लामा दुई दिनदेखि परेको अविरल वर्षाका कारण दुईवटा राष्ट्रिय राजमार्गसहित दर्जनाैँ ग्रामीण सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। बाढी र पहिरोले सडक सञ्जालमा क्षति पुर्‍याएपछि जिल्ला सदरमुकाम बागलुङ बजारसँग विभिन्न ग्रामीण भेगको सीधा सडक सम्पर्क टुटेको छ।

कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गजस्ता मुख्य राष्ट्रिय राजमार्गका साथै अन्य सहायक र ग्रामीण सडकहरूमा पहिरो खस्दा यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको छ। गलकोटदेखि ताराखोला गाउँपालिका जोड्ने गलकोट-ताराखोला सडक अन्तर्गत गाईघाट झरना क्षेत्रमा ताराखोला नदीले पक्की सडक कटान गरेपछि शुक्रबारदेखि नै गाडी चल्न सकेका छैनन्।

यस्तै, बागलुङ बजारबाट तित्याङ र रायडाँडा हुँदै भकुण्डे जोड्ने सडकको बागलुङ नगरपालिका-३ गौडाकोटमा पहिरो जाँदा बाटो बन्द भएको छ। बागलुङ नगरपालिका-१ रामरेखास्थित गणेशथान घुम्तीबाट निरयघाट जाने सडकमा पनि पहिरो खसेकाले आवागमन ठप्प छ।

पहिरोकै कारण बागलुङ बजारदेखि सिगाना हुँदै सायकोट जाने सडकसमेत अवरुद्ध बनेको छ। उता बागलुङ बजारबाट दब्ल्याङ हुँदै बलेवा–कुश्मिसेरा जोड्ने मुख्य सडक खण्ड अवरुद्ध भएपछि दक्षिण बागलुङका क्षेत्रहरूसँगको यातायात सम्पर्क विच्छेद भएको छ। बागलुङ बजारबाट मुलपानी-तितौरे जाने सडकको तल्लो पात्लेमा पहिरो खस्दा सडक सञ्जाल बन्द भएको छ।

यसका साथै बरेङ जाने सडक, निसीखोलामा राजमार्गबाट गाउँ जोड्ने साना शाखा सडकहरू तथा ढोरपाटनका ग्रामीण सडकहरूमा ठाउँठाउँमा पहिरो खसेर गाडी चल्न नसक्ने अवस्था बनेको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईँका अनुसार वर्षाका कारण मुख्य राजमार्गदेखि लिएर गाउँ जोड्ने भित्री सडकसमेत अवरुद्ध भएका छन्।

पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउनका लागि सडक आयोजनाका प्रमुख, सडक डिभिजन कार्यालय, निर्माण व्यवसायी र सम्बन्धित स्थानीय तहहरूसँग निरन्तर समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो। लगातारको वर्षाका कारण बाटो बन्द हुँदा ग्रामीण बस्तीका बासिन्दालाई सदरमुकाम आवतजावत गर्न ठूलो कठिनाइ भइरहेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु