काठमाडौँ – घाँस, झाडी वा खेतबारीमा काम गर्दा ससाना किर्ना जस्तो देखिने सङ्क्रमित किरा (माइट) को टोकाइबाट मानिसमा सर्ने सङ्क्रामक रोग स्क्रब टाइफसको जोखिमप्रति सजग रहन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आग्रह गरेको छ।
मन्त्रालयका अनुसार निरन्तर धेरै ज्वरो आउनु, अत्यधिक पसिना आउनु, टाउको दुखाई, झाडापखाला लाग्नु, शरीरमा बिबिरा देखिनु, आँखा रातो हुनु तथा किराले टोकेको ठाउँमा नदुख्ने कालो पाप्रोजस्तो घाउ देखिनु यस रोगका प्रमुख लक्षणहरू हुन्।
यस्ता लक्षणहरू देखिएमा आफूखुसी औषधि नखाई तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीसँग परामर्श लिन र समयमै पहिचान तथा उपचार गरी जोखिमबाट बच्न मन्त्रालयले सचेत गराएको छ। स्क्रब टाइफसबाट जोगिन खेतबारी वा झाडीमा जाँदा पूरा शरीर ढाकिने कपडा र खुट्टा छोपिने बुट लगाउन तथा सम्भव भएसम्म झाडी र घाँससँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहन सुझाव दिइएको छ।
साथै, घर वरपरको अनावश्यक घाँस र झाडी सफा गर्ने, मुसामा लाग्ने किराबाट रोग सर्ने भएकाले मुसाको सम्पर्कबाट टाढै रहने र किरा भगाउने पदार्थको प्रयोग गर्नुपर्दछ। यस सम्बन्धी थप जानकारी तथा स्वास्थ्य परामर्शका लागि नेपाल सरकारको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले हेलो स्वास्थ्यको निःशुल्क फोन नम्बर ११५५ मा सम्पर्क गर्न सकिने जनाएको छ।


