धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।
धादिङ प्रहरीका अनुसार शुक्रबार बिहान कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेको हो। पहिरोका कारण सडकको एकतर्फी भाग अवरुद्ध भएपछि अहिले सवारीसाधनलाई पालैपालो सञ्चालन गराइएको प्रहरीले जनाएको छ।
यस्तै, बेनीघाट रोराङ गाउँपालिका–९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको प्रहरीले जनाएको छ। उक्त क्षेत्रमा अहिले पनि वर्षा भइरहेकाले थप पहिरोको जोखिम रहेको बताइएको छ।
भोटेकोशी र त्रिशूली नदीमा भदौ १० र १४ गते आएको ठूलो बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक कटान हुँदा पृथ्वी राजमार्ग १८ दिनसम्म अवरुद्ध भएको थियो। लामो समयको प्रयासपछि कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी असोज १ गतेदेखि पृथ्वी राजमार्ग पुनः सञ्चालनमा ल्याइएको थियो।
राजमार्ग सञ्चालनमा आएको केही दिनमै पुनः पहिरो खसेपछि यात्रु तथा सवारी चालकहरूलाई सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ। लगातार वर्षा भइरहेकाले कृष्णभीरसहित धादिङको राजमार्ग क्षेत्रमा सडकको अवस्था हेरेर मात्र यात्रा गर्न सुझाव दिइएको छ।


