चितवनमा उद्योग दर्ता र नवीकरण अब अनलाइनबाटै

एटुजेड समाचार

चितवन – उद्योग दर्ता तथा नवीकरणका लागि अब कार्यालय धाएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ। उद्योग वाणिज्य तथा पर्यटन कार्यालय चितवनले उद्योग दर्ता र नवीकरणको सेवा अनलाइनबाटै सुरु गरेपछि सेवाग्राहीले घरबाटै आवश्यक विवरण तथा कागजात पेस गरी सेवा लिन सक्ने भएका छन्। यसबाट उद्योगी–व्यवसायीको समय र खर्च बचत हुने अपेक्षा गरिएको छ।

भरतपुर महानगरपालिका–६ का अनिश श्रेष्ठले घरबाटै अनलाइनमार्फत आफ्नो ‘जाम फुड्स’ मम उद्योगको दर्ता प्रक्रिया पूरा गर्नुभएको छ। अनलाइन सेवा सुरु भएपछि कार्यालय धाउनुपर्ने, लाइन बस्नुपर्ने र कागजात बुझाउनुपर्ने झन्झट हटेको उहाँले बताउनुभयो।
“घरबाटै काम गर्न सकियो। पहिले जस्तो कार्यालय धाउनुपर्ने र झन्झट व्यहोर्नुपर्ने अवस्था रहेन,” श्रेष्ठले भन्नुभयो।

कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलले सेवाग्राहीलाई सहज र छिटो सेवा उपलब्ध गराउने उद्देश्यले अनलाइन प्रणाली सुरु गरिएको बताउनुभयो।
“कार्यालयमा आउनुपर्ने समय र खर्च घटाउन अनलाइन प्रणाली प्रभावकारी हुने अपेक्षा गरेका छौँ,” उहाँले भन्नुभयो।

कार्यालयका अनुसार चितवनमा हाल करिब १७ हजार उद्योग दर्ता छन्। तीमध्ये करिब १३ हजार उद्योग नवीकरण हुने गरेका छन्। यस्तै, वाणिज्यतर्फ करिब २३ हजार फर्म दर्ता भएका छन्।
अनलाइन प्रणालीलाई थप विस्तार गर्दै उद्योगी–व्यवसायीलाई सेवा लिन सहज बनाउने कार्यालयले जनाएको छ। नयाँ व्यवस्थाले कार्यालयको सेवा प्रवाहलाई समेत थप व्यवस्थित र प्रविधिमैत्री बनाउने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु