आगामी असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशभर भारीदेखि अति भारी वर्षा र उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने सम्भावना रहेको भन्दै मौसम पूर्वानुमान महाशाखाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गतको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार अपराह्न ‘विशेष मौसमी बुलेटिन-३’ जारी गर्दै बङ्गालको खाडीमा विकसित शक्तिशाली मौसमी प्रणालीका कारण तीन दिन देशभर विपद्को जोखिम उच्च रहने जनाएको हो।
महाशाखाका अनुसार उत्तर अन्डमान सागर आसपास बनेको न्यून चापीय प्रणाली हाल बङ्गालको खाडीको मध्य भू-भागमा रहेको छ।
उक्त प्रणाली थप शक्तिशाली बनेर डिप डिप्रेसनका रूपमा परिणत भई पश्चिम-उत्तरपश्चिम दिशातर्फ सर्दैछ। यसको प्रभावले बुधबारदेखि नै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षा सुरु हुनेछ।
गण्डकी र लुम्बिनीमा अति भारी वर्षाको जोखिम
बुलेटिनअनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ भने एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ।
यस्तै, मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको आकलन गरिएको छ। मुलुकका अधिकांश भूभागमा भने मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम प्रणालीका कारण देशको उच्च हिमाली भूभागमा भारी हिमपात हुन सक्ने भएकाले पर्वतारोही, पदयात्री तथा सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
यसैगरी, हाल पाकेको धानबाली भित्र्याउने समय भएकाले मौसमी सूचना र सम्बन्धित कृषि विज्ञहरूको सल्लाह लिएर मात्र कृषि कार्य गर्न किसानहरूलाई महाशाखाले अनुरोध गरेको छ
भारी वर्षाका कारण पहिरो, भू-क्षय, गेग्रान बहाव तथा नदी-खोलामा बाढी आउने जोखिम छ। विशेषगरी तराई तथा सहरी क्षेत्रहरूमा डुबानको समस्या देखिन सक्ने महाशाखाले चेतावनी दिएको छ।
वर्षाले सडक तथा हवाई यातायात, दैनिक जनजीवन, नदी तटीय क्षेत्रका निर्माण कार्य, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्र प्रभावित हुन सक्ने भएकाले पूर्वतयारीमा रहन आम सर्वसाधारण तथा सरोकारवाला सम्पूर्ण निकायलाई अनुरोध गरिएको छ।
महाशाखाले प्रणालीको निरन्तर अनुगमन भइरहेकाले नियमित रूपमा अद्यावधिक मौसमी सूचना लिनसमेत आग्रह गरेको छ।


