मार्शल ल प्रकरणः दक्षिण कोरियाका पाँच पूर्वसैन्य अधिकारी दोषी ठहर

एटुजेड समाचार

सोल – सन् २०२४ मा दक्षिण कोरियामा लागू गरिएको छोटो अवधिको सङ्कटकाल (मार्शल ल) घोषणामा संलग्न रहेको अभियोगमा पाँच पूर्ववरिष्ठ सैन्य अधिकारीलाई सोमबार ९ देखि १८ वर्षसम्मको जेल सजाय सुनाइएको छ ।

अदालतका अनुसार ‘डिफेन्स काउन्टर–इन्टेलिजेन्स कमाण्ड’का पूर्वप्रमुख यो इन–ह्युङलाई १८ वर्ष, ‘क्यापिटल डिफेन्स कमाण्ड’का पूर्वप्रमुख ली जिन–वुलाई १५ वर्ष, सेनाका पूर्वप्रमुख (चिफ अफ स्टाफ) पार्क आन–सुलाई १० वर्ष, ‘डिफेन्स इन्टेलिजेन्स कमाण्ड’का पूर्वप्रमुख मुन साङ–होलाई १२ वर्ष तथा ‘स्पेशल वारफेयर कमाण्ड’का पूर्वप्रमुख क्वाक जोङ–कुनलाई ९ वर्षको जेल सजाय सुनाइएको हो ।

तत्कालीन राष्ट्रपति युन सुक–योलले डिसेम्बर २०२४ मा सङ्कटकाल घोषणा गरेका थिए । त्यसक्रममा संसद्ले उक्त निर्णय उल्ट्याउने मतदान गर्न नपाओस् भन्ने उद्देश्यले संसद् भवनमा विशेष फौज र हेलिकप्टर परिचालन गरिएको अभियोग लगाइएको थियो । साथै, मतदाता धाँधलीको कथित प्रमाण खोज्न राष्ट्रिय निर्वाचन आयोगमा पनि सशस्त्र सैनिक पठाइएको थियो ।

अदालतमा क्वाक जोङ–कुनबाहेक अन्य चार अधिकारीले आफूमाथिका सबै आरोप अस्वीकार गर्दै आफूहरूलाई गलत रूपमा फसाइएको दाबी गरेका छन् । तर क्वाकले जुलाईमा भएको सुनुवाइका क्रममा आफ्ना मातहतका सैनिकलाई राष्ट्रियसभा र निर्वाचन आयोगमा पठाएकोमा गहिरो पश्चाताप व्यक्त गरेका थिए ।

सरकारी वकिलका अनुसार तत्कालीन राष्ट्रपति युनले राष्ट्रियसभामा आवश्यक परे सैन्य बल प्रयोग गर्न, राजनीतिज्ञहरूलाई सभाभित्रबाट हटाउन तथा संसद् भवनमा छिटो प्रवेश गर्न निर्देशन दिएका थिए, ताकि सङ्कटकाल खारेज गर्न आवश्यक गणपूरक सङ्ख्या पुग्न नदिइयोस् ।यसै प्रकरणमा युन सुक–योललाई फेब्रुअरीमा विद्रोहको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो । युन हाल उक्त फैसलाविरुद्ध पुनरावेदन प्रक्रियामा छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु