हाजिर गरेर टाप कस्छन् कर्मचारी

एटुजेड समाचार

विराटनगर – जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका चार सरकारी कार्यालयमा गरेको छड्के अनुगमनका क्रममा सडक डिभिजन कार्यालयका प्रमुखसहित २३ कर्मचारी अनुपस्थित भेटिएका छन् ।

प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कोवित ढकालको नेतृत्वमा सोमबार गरिएको अनुगमनमा सडक डिभिजन कार्यालयका प्रमुख नारायण निघुरेसहित २३ कर्मचारी कार्यालयमा उपस्थित नभएको पाइएको हो । अनुपस्थित हुनेमा इन्जिनियरसमेत रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै, संघीय सहरी विकास तथा भवन निर्माण कार्यालयमा नौ कर्मचारी अनुपस्थित भेटिएका थिए । औषधि व्यवस्था विभाग र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयमा भने सबै कर्मचारी उपस्थित रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले बताए ।

‘सरकारी कार्यालयमा कर्मचारी नियमित उपस्थित नहुने गरेको जनगुनासो आएपछि चारवटा कार्यालयमा छड्के अनुगमन गरेका थियौं,’ कोइरालाले भने, ‘दुई वटा कार्यालयमा कर्मचारी अनुपस्थित रहेको पाइयो ।’ उनका अनुसार अनुगमनका क्रममा अनुपस्थित भेटिएका कर्मचारीलाई नियमअनुसार कारबाहीको दायरामा ल्याइनेछ ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु