इटालीमा विद्यालयमा बुर्का–नकाब प्रतिबन्ध र विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने प्रस्ताव

एटुजेड समाचार

रोम – इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीले विद्यालयमा बुर्का र नकाबजस्ता अनुहार ढाक्ने पोसाकमा प्रतिबन्ध लगाउने तथा प्रत्येक कक्षामा विदेशी विद्यार्थीको सङ्ख्या सीमित गर्ने कानुनी व्यवस्था ल्याउने घोषणा गरेकी छन् ।आइतबार रोममा ब्रदर्स अफ इटालीको युवा कार्यक्रम फेनिक्समा बोल्दै प्रधानमन्त्री मेलोनीले प्रस्तावित व्यवस्था छिट्टै मन्त्रिपरिषद्मा पेस गरिने जानकारी दिइन् ।

एकीकरणमा कठिनाइ देखिएका विदेशी विद्यार्थीका अभिभावकलाई इटालियन भाषा सिक्नुपर्ने व्यवस्था पनि प्रस्तावित कानूनमा समेटिने उनले बताइन् ।मेलोनीले इटालीमा भविष्य निर्माण गर्न आउने व्यक्तिले भाषा, संस्कृति र देशका नियमको सम्मान गर्नुपर्ने बताउँदै विद्यालयमा लैङ्गिक समानता र प्रभावकारी एकीकरणमा जोड दिइन् ।

विद्यालयमा अनुहार ढाक्ने पोसाक प्रतिबन्धको बचाउ गर्दै उनले कुनै पनि परम्पराका नाममा युवतीलाई अनुहार लुकाउन बाध्य पार्न नसकिने बताइन् । “लैङ्गिक समानता गैरसम्झौतायोग्य छ”, उनले भनिन् ।अनुसन्धान संस्था फोन्डाजियोन आइएसएमयूका अनुसार इटालीका विद्यालयमा करिब नौ लाख ३० हजार गैरइटालियन नागरिक विद्यार्थी अध्ययनरत छन् । यो कुल विद्यार्थी सङ्ख्याको ११.६ प्रतिशत हो ।

सरकारले प्रत्येक कक्षामा विदेशी विद्यार्थीको अधिकतम सङ्ख्या भने अझै तोकेको छैन ।प्रधानमन्त्री मेलोनीले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा रहेको बहुविकल्पीय प्रणाली हटाइएको पनि बताइन् । नयाँ व्यवस्थाले विश्वविद्यालयमा अध्ययनका अवसर विस्तार गर्ने उनको भनाइ थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु