शिक्षासेवी एवं कलाकार होमनाथ उपाध्याय चालिसेको निधन

एटुजेड समाचार

चितवन । शिक्षासेवी, समाजसेवी तथा कलाकार स्वर्गीय होमनाथ उपाध्याय चालिसेको ९७ वर्षको उमेरमा निधन भएको छ। उहाँको वि.सं. १९८६ साल पौष ४ गते काठमाडौंको चाबहिल, मिलनचोकमा प्रेमनाथ उपाध्याय चालिसे र टीका कुमारी चालिसेका सुपुत्रका रूपमा जन्म भएको थियो। वि.सं. २०८३ साल भदौ ३१ गते भरतपुर ७ कृष्णपुर स्थित उज्ज्वलटोलमा रहेको निवासमा उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

चालिसेले आफ्नो जीवनको लामो समय शिक्षा, समाजसेवा तथा धार्मिक क्षेत्रमा समर्पित गर्नुभएको थियो। उहाँले तत्कालीन रसुवा जिल्लाको साविक लहरेपौवा गाविस–९ मा बसोबास गर्दै नेपाली शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएको थियो। उहाँले विभिन्न विद्यालयमा करिब ३४ वर्षसम्म अध्यापन गरी हजारौँ विद्यार्थीलाई ज्ञानको ज्योति प्रदान गर्नुभएको थियो।

लामो शिक्षण यात्राका क्रममा उहाँले समाजमा शैक्षिक चेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो। धार्मिक, सांस्कृतिक तथा पाण्डित्य क्षेत्रमा समेत सक्रिय उहाँले सनातन धर्म, संस्कार र संस्कृतिको संरक्षणमा भूमिका निर्वाह गर्नुभएको थियो।

रसुवामा लामो समय कर्मक्षेत्र बनाएपछि उहाँ वि.सं. २०३९ साल मंसिरमा चितवनमा बसाइँ सरी जीवनको अन्तिम कालखण्डसम्म चितवनलाई कर्मभूमि बनाउनुभएको थियो। शिक्षा, समाजसेवा र धार्मिक गतिविधिमा निरन्तर सक्रिय रहनुभएका चालिसेको व्यक्तित्व शिक्षण र पाण्डित्यमा मात्र सीमित थिएन।

नेपाली टेलिभिजनको चर्चित तथा चेतनामूलक टेलिशृंखला ‘उजेली’ मा पण्डित तथा लमीको जीवन्त भूमिका निर्वाह गर्दै उहाँले अभिनय क्षेत्रमा समेत आफ्नो विशिष्ट छाप छोड्नुभएको थियो। यसबाट उहाँको अभिनय प्रतिभाले देशव्यापी रूपमा पहिचान पाएको थियो।

सामाजिक, राजनीतिक तथा धार्मिक गतिविधिमा सक्रिय चालिसे स्थानीयस्तरमा समेत आदरणीय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले चालिसे परिवारसँगै शिक्षा, समाजसेवा, धार्मिक तथा सामाजिक क्षेत्रमा समेत अपूरणीय क्षति पुगेको छ।

स्वर्गीय चालिसेका ३ छोरा, ४ छोरी, ३ बुहारी, ३ ज्वाइँ तथा नाति–नातिनी र पनाति–पनातिनीसहितको ठूलो परिवार रहेको छ। परिवारले उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्ति तथा वैकुण्ठबासको कामना गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु