रसुवा बाढीपछि चितवनका १६ जना सम्पर्कविहीन (नामसहित), ३६४ शव भेटिए

चितवन – चितवनमा घर भई विभिन्न काम तथा भ्रमणको शिलशिलामा रसुवा पुगेका १६ जना सम्पर्कविहीन भएको पाइएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार कार्यालयमा नाम टिपाएका आधारमा तयार पारेको विवरणमा जिल्लाका विभिन्न स्थानीय तहका १६ जना रसुवामा सम्पर्कविहीन भएको उल्लेख छ।

सम्पर्कविहीन हुनेमा भरतपुर महानगरपालिकाका विभिन्न वडाका विक्रम उपाध्याय, सुगम सिलवाल, केशवराज चालिसे, महेश नेपाली, विश्वनाथ पौडेल, गुणराज उप्रेती, राजकुमार पुलामी मगर, ईन्द्र अधिकारी सम्पर्कविहीन भएको उल्लेख छ।
त्यस्तै इच्छाकामना गाउँपालिका–१ का सुमन पुरी, इच्छाकामना–४ लेटाङका दिलबहादुर मगर र सुजिना प्रजा मगर रहेका छन्।

यसैगरी राप्ती–८ का योगबहादुर खड्का, खैरहनी–६ का रिकेश श्रेष्ठ, खैरहनी -९ का सन्देश परियार, कालिका–१ का पूर्णबहादुर श्रेष्ठ तथा रञ्जितकुमार गुप्ताको नाम पनि सूचीमा छ।

जिल्ला प्रहरी कार्यालय चितवनका निमित्त सुचना अधिकारी मनिष श्रेष्ठका अनुसार सम्पर्कविहीन भएकाहरूको विवरण कार्यालयमा आफन्त तथा सम्बन्धित व्यक्तिहरूले नाम टिपाएपछि तयार गरिएको हो।

सूचीमा उनीहरूको ठेगाना, अनुमानित उमेर, परिवारको नाम, सम्पर्क नम्बर तथा उनीहरू कार्यरत रहेको स्थान वा पेशासम्बन्धी विवरणसमेत राखिएको छ। यदी यस विवरणमा कसैको नाम छुटेको भए प्रहरी कार्यालयमा गएर नाम टिपाउनुहुन उनले अनुरोध समेत गरेका छन् ।

विवरणमा केही व्यक्ति अपर त्रिशूलीमा कार्यरत, केही त्रिशूली–ए जलविद्युत आयोजनामा कार्यरत, केही सवारी चालक तथा सुरक्षागार्डका रूपमा कार्यरत रहेको उल्लेख छ। एक जना धार्मिक भ्रमणका क्रममा रसुवा पुगेको र अर्का व्यक्ति रसुवामा काम गर्ने गरेको समेत विवरणमा जनाइएको छ।

यस्तै रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि चितवनको विभिन्न भूभागमा हालसम्म ३६४ वटा शव भेटिएको छ। भेटिएका शवमध्ये १४ जनाको सनाखत भएको छ भने अन्य शवको पहिचान हुन बाँकी रहेको छ।

भेटिएका शवमध्ये ७६ जना महिला, १२३ जना पुरुष, १७ जना बालिका र ११ जना बालक रहेका छन्।

यस्तै १३७ वटा शवको पहिचान खुल्न सकेको छैन। यस्तै ७६ जना महिला, ११२ जना पुरुष, १६ जना बालिका, ११ जना बालक र १३६ जना अन्य गरी ३५१ जनाको शव व्यवस्थापन गरिएको उल्लेख छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु