कुशे औँसीमा स्वस्तिक नेपालको ज्येष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य शिविर

एटुजेड समाचार

भरतपुर – कुशे औँसी तथा बुवाको मुख हेर्ने दिनको अवसर पारेर भरतपुर–११ मा रहेको सामाजिक संस्था स्वस्तिक नेपालले ज्येष्ठ नागरिक सम्मान तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।

भरतपुर–१० विशालचोक स्थित प्रतीक्षालयमा आयोजित कार्यक्रममा मौलाकालिका अस्पताल भरतपुरको प्राविधिक सहयोगमा ज्येष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी करिब ५० जना ज्येष्ठ नागरिकलाई ढाका टोपी, दोसल्ला, विभिन्न सामग्री सहितको ब्याग तथा औषधि हस्तान्तरण गर्दै सम्मान गरिएको थियो।

स्वस्तिक नेपालका अध्यक्ष सुमनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जन, पूर्व अध्यक्षहरू सुदीप सिंह अधिकारी, भरत मल्ल, राजन अधिकारी र नारायण कँडेल, उपाध्यक्ष अर्जुन अधिकारी, महासचिव प्रेम बराल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै सहभागीहरूले ज्येष्ठ नागरिकप्रति सम्मान, सद्भाव र जिम्मेवारी अभिवृद्धि गर्ने उद्देश्यले गरिएको यस्तो कार्यक्रम सामाजिक दृष्टिले महत्वपूर्ण रहेको बताए। कुशे औँसीको अवसरमा ज्येष्ठ नागरिकलाई आफ्नै बुवा सरह सम्मान गर्दै संस्थाले स्वास्थ्य सेवा तथा आवश्यक सामग्री उपलब्ध गराई नयाँ पुस्तामा अग्रज प्रतिको सम्मान र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न कार्यक्रम आयोजना गरिएको संस्थाका संस्थापक अध्यक्ष हिरामान महर्जनले बताउनु भयो।

बि.स .२०६३ सालमा स्थापना भएको स्वस्तिक नेपाल स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विशेष रूपमा क्रियाशील सामाजिक संस्था हो। संस्थाले आगामी दिनमा पनि स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा समुदाय केन्द्रित कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु