काठमाडौं – मलेसिया रोजगारीमा सीमित म्यानपावर कम्पनीलाई मात्रै श्रमिक पठाउन दिने गरी अघि बढाइएको प्रक्रियामाथि सरकारले छानबिन अघि बढाउने भएको छ ।मलेसियाले नेपालबाट श्रमिक लैजान २५ वटा म्यानपावर कम्पनीको सूची सार्वजनिक गरेपछि उत्पन्न विवादका बीच युवा, श्रम तथा रोजगार मन्त्रालयले ती कम्पनीमाथि स्थापनाकालदेखि हालसम्मको कारोबारसमेत छानबिन गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको छ ।
मन्त्रालयले विभागलाई सूचीमा परेका २५ संस्थाको कारोबार र उनीहरूलाई मलेसिया पठाउने अधिकार प्राप्त हुनुको आधारबारे अनुसन्धान अघि बढाउन निर्देशन दिएको हो ।यसअघि मलेसियाले २५ वटा म्यानपावरमार्फत मात्रै नेपालबाट श्रमिक लैजाने गरी सूची सार्वजनिक गरेको थियो ।
त्यसको चौतर्फी विरोध भएपछि सरकारले मलेसिया जाने श्रमिकको पूर्वस्वीकृति तथा प्रमाणीकरण प्रक्रियामै रोक लगाएको थियो । उनीहरूलाई रोक लगाएको बेला मलेसियाको फरेन वर्कर सेन्ट्रल म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) ले थप २५० म्यानपावरलाई ति २५ वटाको सबएजेन्टको रूपमा राखेको थियो ।


