आशिकाको प्रश्न– के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ?

एटुजेड समाचार

काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले बजारमा ग्यासको अभाव भएको भन्दै सरकारको आलोचना गरेकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद तामाङले जनता भोक भोकै बस्नुपर्ने अवस्था आएको तर सरकारले जनताको समस्याप्रति चासो नदेखाएको बताइन् ।

उनले पसलहरूमा ग्यास भए पनि व्यवसायीहरूले बेच्न नमानिरहेका बताइन् । उनले भनिन्– ‘मलाई दिनमा हजारौँ कल आउँछन्, आशिका दिदी पसलमा ग्यास छ तर पसलले ग्यास बेच्न मान्दैनन्।’

उनले सरकार ठुलो कि माफिया भन्दै प्रश्न गरिन् । तामाङले प्रश्न गरिन्, ‘के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? जनताले दुई तिहाइ मत दिएर पठाएको सरकारले आज जनतालाई दाउरा खोजेर भात पकाएर खाऊ भन्नुपर्ने हो ?’

सांसद तामाङले मुलुकमा ग्यासको लाइन लामो भए पनि सरकारले मन्त्री फेर्ने काममा मात्रै ध्यान दिएको बताइन् । उनले व्यङ्ग्य गर्दै भनिन्– ‘महिने पिच्छे ग्यासको लागि मात्र मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइन भन्दा मन्त्रीहरूको लाइन बढी हुनेछ सभामुख महोदय ?’

उनले यदि साँच्चिकै बजारमा ग्यास छैन भने सरकारले आज र अहिले नै ग्यास छैन भनेर घोषणा गर्नुपर्ने र जनतालाई वास्तविकता बताउनुपर्ने बताइन् । सांसद तामाङले जनताको पिर मर्काप्रति सरकार संवेदनशील नभएको भन्दै ग्यासको आपूर्ति सहज बनाउन तत्काल कदम चाल्न माग गरिन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु