लन्डन – बेलायतकी दिवङ्गत राजकुमारी डायनाले लगाएको विश्वप्रसिद्ध ‘रिभेन्ज ड्रेस’ झन्डै तीन दशकपछि पहिलोपटक लिलामीमा राखिने भएको छ। कालो रङको उक्त आकर्षक गाउन आगामी डिसेम्बर ९ मा न्युयोर्कमा लिलामी हुने र यसको मूल्य ३ लाख अमेरिकी डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
ग्रीक डिजाइनर क्रिस्टिना स्टाम्बोलियनले डिजाइन गरेको यो शरीरसँग टाँसिने, काँध खुला रहने रेशमी पोसाक डायनाले सन् १९९४ जुन २९ मा लन्डनस्थित सर्पेन्टाइन ग्यालरीको एक कार्यक्रममा लगाएकी थिइन्।
संयोगवश, त्यही दिन उनका तत्कालीन पति तथा वर्तमान राजा चार्ल्स तृतीयले एक टेलिभिजन अन्तर्वार्तामा आफू वैवाहिक सम्बन्धबाहिर गएको स्वीकार गरेका थिए। यस्तो संवेदनशील परिस्थितिमा डायना उक्त साहसी र आकर्षक पहिरनमा सार्वजनिक रूपमा देखिएपछि यसलाई पछि ‘रिभेन्ज ड्रेस’ अर्थात् ‘प्रतिशोधको पहिरन’ भन्न थालियो।
त्यतिबेला बेलायती राजपरिवारका सदस्यले कालो पहिरनलाई मुख्यतः शोक वा अन्त्येष्टिसँग जोडेर हेर्ने परम्परा थियो। तर डायनाले कालो गाउनसँग कालो हिल, क्लच, रातो नेलपोलिस र हिरा–नीलम जडित चोकर लगाएर आफ्नो छुट्टै छवि प्रस्तुत गरेकी थिइन्।
लिलामी संस्था सोथबेजकी की फेसन विभाग प्रमुख मोर्गन हालिमीका अनुसार डायनाले शब्दले व्यक्त गर्न नसकिने सन्देशलाई फेसनमार्फत शक्तिशाली रूपमा प्रस्तुत गरेकी थिइन्।
यो पोसाक यसअघि सन् १९९७ मा डायनाले स्तन क्यान्सर र एड्ससम्बन्धी परोपकारी संस्थाका लागि रकम जुटाउन आफ्ना ७९ वटा पोशाकसँगै लिलामी गरेकी थिइन्। त्यसयता यो विभिन्न परोपकारी कार्यक्रममा देखाइएको थियो।
‘रिभेन्ज ड्रेस’लाई सेप्टेम्बर १८ देखि लन्डनमा सार्वजनिक प्रदर्शनमा राखिनेछ। त्यसपछि हङकङ र जेनेभा हुँदै न्युयोर्क लगिनेछ। लिलामीबाट प्राप्त रकमको केही हिस्सा स्वास्थ्य सेवा परोपकारी संस्था एनएचएस लोथियन च्यारिटीलाई प्रदान गरिने बताइएको छ।
डायनाको अर्को एक कम चर्चित पोसाक सन् २०२३ मा ६ लाख ४ हजार ८ सय डलरमा बिक्री भएको थियो भने उनको प्रसिद्ध ‘ब्ल्याक शीप’ स्वेटर ११ लाख डलरभन्दा बढीमा बिक्री भएको थियो। त्यसैले ‘रिभेन्ज ड्रेस’को मूल्य अनुमानभन्दा अझ माथि पुग्न सक्ने अपेक्षा गरिएको छ।


