बाढीपीडितका लागि श्रीलंकाले नेपाललाई १० लाख डलर सहयोग

एटुजेड समाचार

काठमाडौं। नेपालका परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि श्रीलंकाका राजदूत रुवन्थी डेल्पिटियाले आज परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेट गरेकी छन्।

भेटका क्रममा राजदूत डेल्पिटियाले विपद्को यस कठिन समयमा श्रीलंका सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार र नेपाली जनताप्रति गहिरो समवेदना तथा ऐक्यबद्धता व्यक्त गरेकी थिइन्।

उनले विनाशकारी बाढीपछि जारी मानवीय तथा राहत कार्यमा सहयोग पुर्‍याउन श्रीलंका सरकारले नेपाललाई १० लाख अमेरिकी डलर आर्थिक सहयोग गर्ने जानकारी दिँदै सहयोग रकम हस्तान्तरण गरेकी थिइन्।

परराष्ट्रमन्त्री खनालले नेपालप्रति देखाएको ऐक्यबद्धता र सहयोगका लागि श्रीलंका सरकार तथा जनताप्रति गहिरो आभार व्यक्त गरेका थिए। उनले यो सहयोग दुई देशबीचको पुरानो मित्रता र पारस्परिक सहकार्यको प्रतिबिम्ब भएको बताएका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु