विदेशमा बसेका नागरिकको मतदान सुनिश्चितताबारे विज्ञसँग छलफल

एटुजेड समाचार

काठमाडौँ – निर्वाचन आयोगले मतदाता नामावलीमा नाम समावेश भएका तर निर्वाचन क्षेत्रभन्दा बाहिर वा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अवसर दिने सम्बन्धमा सम्बन्धित विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरेको छ ।

बुधबार आयोगमा भएको छलफलमा नीति अनुसन्धान प्रतिष्ठान,नेपाल पोलिसी इन्स्टिच्युट, विश्वविद्यालयका अध्येता/अनुसन्धानकर्ता, कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ,सूचना प्रविधि तथा साइबर सुरक्षा विज्ञहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा आयोगका आयुक्त डा.राजीव सुब्बाले विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदानमा सहभागिता सुनिश्चित गर्ने आवश्यकता, सम्भावित मतदानका विभिन्न मोडेल तथा अन्तर्राष्ट्रिय अनुभवका सम्बन्धमा प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणमा आधुनिक मतदान प्रविधि, इन्टरनेट मतदान तथा बङ्गलादेशमा प्रयोग भएको सूचना प्रविधि–सहयोगी हुलाक मतदानका अनुभवसमेत समेटिएका थिए ।

छलफलको मूल दृष्टिकोण कुनै निश्चित प्रविधि छनोट गर्नुभन्दा पहिले नेपालको निर्वाचनसम्बन्धी आवश्यकता, सुरक्षा, विश्वसनीयता, पारदर्शिता र सार्वजनिक विश्वासका मापदण्ड पहिचान गरी ती आवश्यकता पूरा गर्न सक्ने उपयुक्त मतदान मोडेलको मूल्याङ्कन गर्ने दृष्टिकोण अपनाइएको थियो ।

कार्यक्रमबाट प्राप्त विज्ञहरूको अनुभव, अन्तर्राष्ट्रिय अभ्यास र प्राविधिक तथा नीतिगत सुझावहरू नेपालमा विदेशमा तथा निर्वाचन क्षेत्रबाहिर रहेका मतदाताको मतदान सुनिश्चित गर्ने सम्बन्धमा आगामी नीतिगत, कानुनी, प्राविधिक तथा कार्यान्वयनसम्बन्धी तयारीका लागि महत्त्वपूर्ण आधार हुने अपेक्षा गरिएको छ । सबै योग्य मतदाताको पहुँच र सहभागिता सुनिश्चित गर्दै नेपालको निर्वाचन प्रणालीलाई थप समावेशी, विश्वसनीय र भविष्य उन्मुख बनाउने दिशामा छलफलले मद्दत गर्ने आयोगको भनाइ छ ।

हुलाक मतदान, प्रतिनिधिमार्फत मतदान, इन्टरनेट मतदान तथा सूचना प्रविधि–सहयोगी हुलाक मतदान लगायतका सम्भावित विकल्पहरूका बारेमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ताले जनाएका छन् ।

त्यसैगरी, मतदाता पहिचान तथा प्रमाणीकरण, एक व्यक्ति–एक मत, मतपत्रको गोपनीयता, साइबर तथा सूचना प्रविधि सुरक्षा, प्रणालीको विश्वसनीयता तथा लेखापरीक्षण, लागत, मतदाता शिक्षा, जनशक्ति, परीक्षण र चरणबद्ध कार्यान्वयन लगायतका विषयमा विज्ञहरूको अनुभव, धारणा र सुझाव प्राप्त गरिएको थियो ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु