ललितपुर – ललितपुरको सातदोबाटोस्थित पौडी पोखरी परिसरमा निर्माण गरिएको ‘जेनजी स्मृति पार्क’ औपचारिक उद्घाटन नहुँदै विवादमा परेको छ। जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा निर्माण गरिएको पार्क उद्घाटन गर्न गृहमन्त्री सुधन गुरुङ सातदोबाटो पुगेका थिए। तर, पार्कमा निर्माण गरिएका शहीदका सालिकहरू वास्तविक व्यक्तिको अनुहारसँग नमिलेको भन्दै शहीद परिवारले आपत्ति जनाएपछि उनले उद्घाटन नगरी फर्किएका हुन्।
पार्क उद्घाटनका लागि पुगेका शहीदका आफन्तहरूले सालिक हेरेपछि असन्तुष्टि जनाउँदै आन्दोलनमा ज्यान गुमाएका आफ्ना परिवारका सदस्यको अनुहारसँग सालिक मेल नखाएको बताएका छन्।
परिवारजनको आरोप छ—सालिक निर्माण गर्दा पर्याप्त सावधानी अपनाइएन र काममा लापरबाही गरिएको छ।यस पार्कमा गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका ४५ जनाको सालिक निर्माण गरिएको छ।
सातदोबाटोको पौडी पोखरी परिसरमा रहेको करिब दुई रोपनी जग्गामा निर्माण गरिएको यो पार्कलाई शहीदहरूको स्मृति, राष्ट्रियता र सामूहिक स्मरणसँग जोड्ने गरी डिजाइन गरिएको सरकारले जनाएको छ।तर, उद्घाटनकै दिन शहीद परिवारले सालिकको स्वरूपमाथि प्रश्न उठाएपछि कार्यक्रम नै रोकिएको छ।


