रोटरी करुणालय वृद्धाश्रममा तीज विशेष दर खाने कार्यक्रम सम्पन्न

एटुजेड समाचार

देवघाट – स्पाउज क्लब अफ आरसी चितवनको आयोजनामा देवघाटस्थित रोटरी करुणालय वृद्धाश्रममा तीज विशेष दर खाने तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसर पारेर वृद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकसँग तीजको खुसी साटासाट गर्ने, उनीहरूप्रति सम्मान र आत्मीयता अभिव्यक्त गर्ने तथा सामाजिक सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम स्पाउज क्लबकी अध्यक्ष जानकी शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन क्लबकी सचिव बबिता घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो भने करुणालयका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुके विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा स्पाउज क्लबका २५ जना सदस्य, रोटरियन १० जना, वृद्धाश्रममा आवासीय रूपमा रहेका ३५ जना ज्येष्ठ नागरिक, बाह्य सेवाग्राही १२५ जना तथा कार्यालयका १० जना कर्मचारीसहित उल्लेख्य सहभागिता रहेको थियो।

तीज विशेष भोजनसहित खुसी साटासाट –

कार्यक्रममा वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक तथा सहभागीहरूका लागि तीज विशेष विभिन्न शाकाहारी परिकारसहितको भोजनको व्यवस्था गरिएको थियो। सहभागीहरूले ज्येष्ठ नागरिकसँग भेटघाट गर्दै तीजको शुभकामना आदानप्रदान गर्नुका साथै आत्मीयता र खुसी साटासाट गरेका थिए।

 

कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोत स्पाउज क्लबका सदस्यहरूको व्यक्तिगत योगदान तथा रोटरी क्लब अफ चितवन र वृद्धाश्रमबाट प्राप्त सहयोगबाट व्यवस्थापन गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा स्पाउज क्लबकी अध्यक्ष जानकी शर्माले वृद्धाश्रममा बसोबास गरिरहेका महिला तथा पुरुष ज्येष्ठ नागरिकप्रति सम्मान तथा शुभेच्छा व्यक्त गर्दै उनीहरूसँग तीजको खुसी बाँड्न पाएकोमा खुसी व्यक्त गर्नुभयो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने दाता, स्पाउज क्लबका सदस्य तथा रोटरियनहरूप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।

प्रमुख अतिथि रोटरी क्लब अफ चितवनका अध्यक्ष गेहेन्द्रमान श्रेष्ठले ज्येष्ठ नागरिकहरूको सम्मान र खुसीका लागि स्पाउज क्लबले आयोजना गरेको कार्यक्रम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता सामाजिक तथा मानवीय गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक उत्तरदायित्वको भावना बलियो बनाउने धारणा व्यक्त गर्नुभयो।

त्यसैगरी करुणालयका अध्यक्ष तथा रोटरी क्लब अफ चितवनका पूर्वअध्यक्ष उत्तमलाल चुकेले स्पाउज क्लबका सदस्यहरूले वृद्धाश्रममा आएर ज्येष्ठ नागरिकसँग तीजको खुसी साटेकोमा आभार व्यक्त गर्नुभयो। उहाँले ज्येष्ठ नागरिकप्रति आयोजक तथा सहयोगीहरूले देखाएको माया, सद्भाव र सहयोग प्रशंसनीय रहेको बताउनुभयो।

कार्यक्रमले ‘सेवा, सद्भाव र सहकार्य’ को भावनालाई आत्मसात् गर्दै वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकको जीवनमा खुसी, आत्मीयता र उत्साह थपेको आयोजकको भनाइ छ।

स्पाउज क्लबले आगामी दिनमा पनि ज्येष्ठ नागरिक, महिला, बालबालिका तथा आवश्यकता भएका समुदायका विभिन्न वर्गलाई लक्षित गर्दै सामाजिक तथा मानवीय सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु