काठमाडौँ – नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले बाढीपहिरोका कारण घरबारविहीन भएका व्यक्तिहरूको अवस्था अत्यन्तै दयनीय रहेको भन्दै उनीहरूको पुनःस्थापनाका लागि विशेष पहल हुनुपर्नेमा जोड दिएका छन्।
बिहीवार रसुवा बाढी पीडितका लागि पार्टीको विपद् व्यवस्थापन कोषमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का १२ वटा एकाइबाट संकलन गरिएको रकम बुझ्दै उनले यस्तो बताएका हुन्। विपद्पछिको वस्तुस्थितिबारे चर्चा गर्दै सभापति थापाले बाढीको विनाश भूकम्पको तुलनामा झनै भयावह रहेको बताए।
बाढीले जायजेथा सबै सखाप पारेपछि पीडितहरू हाल विद्यालय र सार्वजनिक भवनमा आश्रय लिन बाध्य भएको र उनीहरूसँग जीविकोपार्जनको कुनै उपाय बाँकी नरहेको उनले उल्लेख गरे। सभापति थापाले बाढीले भौतिक पूर्वाधार (बाटो, पुल, विद्यालय) मा पुर्याएको क्षतिसँगै व्यक्तिगत सम्पत्तिको क्षति अपूरणीय रहेको बताए।
मानिसहरूले आफ्नो जीवनभरको कमाइ खर्चिएर सानो टुक्रा घडेरी किनेर बसेका खोलाकिनारका साना बजारका बस्ती पूरै सखाप भएको उनको भनाइ छ।
थापाले भने, ‘भूकम्पले घर भत्काए पनि जमिन बाँकी रहन्थ्यो, तर बाढीले त घरसँगै आश्रय दिने जमिन र गरी खाने खेतबारी समेत बगाउने रहेछ। कतिपयको ८–९ रोपनी खेत त कतिपयको उठिबास हुने गरी घरजमिन सबै बाढीले बगाएको छ। यस्तो अवस्थामा पीडितहरू पूर्ण रूपमा रित्तिएका छन्।’
भूकम्पका वेला घर निर्माणका लागि सहुलियत ऋणको व्यवस्था गरिए पनि अहिले बाढीपीडितका हकमा घर बनाउने जमिन नै बाँकी नरहेकाले पुनःस्थापनाको चुनौती अझ जटिल बनेको थापाले बताए।
काठमाडौँ क्षेत्र नम्बर ४ बाट संकलित उक्त रकम बाढीपहिरो प्रभावितको राहत र सहयोगका लागि पार्टीको केन्द्रीय कोषमार्फत परिचालन गरिने बताइएको छ।


