चितवन – चितवनको नारायणी नदीमा बेपत्ताको शव खोज्न नेपाली सेनाले ड्रोन र रबरबोटसहित ४३६ जना फौज परिचालन गरेको छ। भदौ १० गते भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्म असर पारेपछि शव खोजी, उद्धार तथा व्यवस्थापनलाई तीव्रता दिइएको हो।
नदी तटीय क्षेत्रमा बेपत्ताको शव फेला पर्न थालेपछि सेनाले विभिन्न गण तथा गुल्मबाट ४३६ जना तालिमप्राप्त सैनिक परिचालन गरेको जनाएको छ।खोजी कार्यलाई प्रभावकारी बनाउन सेनाले ३ वटा अत्याधुनिक ड्रोनमार्फत हवाई अनुगमन गरिरहेको छ भने नदीमा १४ वटा रबरबोट प्रयोग भइरहेका छन्।
परिचालित टोलीले नारायणी तथा आसपासका सम्भावित क्षेत्रमा शवको खोजी, पहिचान, संकलन र सुरक्षित तथा सम्मानजनक व्यवस्थापन गरिरहेको छ।
बाढीपछि बेपत्ता भएकाहरूको खोजीलाई तीव्रता दिँदै सम्भावित नदी तटीय क्षेत्रमा सेनाको टोलीले निरन्तर निगरानी र खोजी कार्य जारी राखेको छ।


