नुवाकोट – गत भदौ १० गते आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूलाई सुरक्षित बाहिर निकाल्न सरकारले उद्धार कार्यलाई तीव्रता दिएको छ ।
ऊर्जा मन्त्रालयको सचिवालयका अनुसार सुरुङभित्र रहेकाहरूको जीवनरक्षा र उद्धारका लागि उपलब्ध सबै स्रोतसाधन परिचालन गरी युद्धस्तरमा काम भइरहेको छ ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन आज रातभर उत्खननको काम निरन्तर सञ्चालन गर्ने तयारी गरिएको छ । सुरुङभित्र थुप्रिएको गेग्रान तथा अन्य अवरोध हटाउने कामसँगै फसेका व्यक्तिहरूसम्म अक्सिजन पुर्याउन भेन्टिलेसनको व्यवस्था पनि समानान्तर रूपमा अघि बढाइएको छ ।
उद्धार टोलीले अहिले सुरुङभित्र घस्रिएर जान सकिने साँघुरो मार्ग ९प्यासेज० निर्माण गरिरहेको छ । उक्त मार्गबाट स्ल्याबको माथिल्लो भाग हुँदै डक्टको टुप्पोसम्म पुग्ने र त्यहाँबाट सुरुङभित्रको वास्तविक अवस्था विस्तृत रूपमा निरीक्षण गर्ने योजना बनाइएको सचिवालयले जनाएको छ ।
यसअघि उद्धार टोलीले ड्रिलिङमार्फत सुरुङको माथिल्लो भागसम्म सानो प्वाल बनाएर अक्सिजन, पानीलगायत अत्यावश्यक सामग्री पठाउने व्यवस्था मिलाउने प्रयास गरिरहेको थियो । तर, भौगोलिक जटिलता तथा सुरुङभित्र रहेका अवरोधका कारण हाल भइरहेको प्रयासबाट उद्धार सम्भव नभए वैकल्पिक योजनाअनुसार भोलि बिहानै नेपाली सेनाको प्राविधिक टोली परिचालन गरी नियन्त्रित विस्फोटमार्फत अवरोध हटाउने तयारी गरिएको छ ।
सरकारले सुरुङभित्र फसेका व्यक्तिहरूको अवस्थालाई उच्च प्राथमिकतामा राख्दै उद्धारका लागि आवश्यक सबै उपाय अपनाइरहेको जनाएको छ । मन्त्रालयले फसेका व्यक्तिहरूलाई सकुशल बाहिर निकाल्न कुनै पनि कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ ।


