काठमाडौँ : नेपाल आयल निगमले नुवाकोट र रसुवा जिल्लाका लागि आज १५० थान भरी एलपि ग्यास सिलिण्डर राहत कार्यका लागि पठाइएको जनाएको छ।
निगमले विज्ञप्ति जारी गर्दै एलपि ग्यास उद्योग संघ नेपालले नुवाकोट र रसुवा जिल्लाका लागि भदौँ १० र १३ गते(आज) १५० थान भरी सिलिण्डर राहत कार्यमा सहयोग गरी पठाएको जनाएको हो।
निगमका अनुसार भदौँ १० गतेका दिन नुवाकोटमा २३२ थान ग्यास पठाएको थियो।
खोज तथा उद्धार कार्यमा संलग्न भएका हेलीकप्टहरुको लागी आवश्यक हवाई इन्धन नेपाली सेना सँगको समन्वयमा नुवाकोट स्थित नेपाली सेनाको व्यारेकबाट रिफूलिङ्ग सेवाको प्रबन्ध मिलाएकोमा २०८३ साल भाद्र १० गतेका दिन १२ हजार लिटर, भाद्र ११ गते ९ हजार लिटर टैंकरबाट तथा १८ सय ४० लिटर हेलिकप्टर मार्फत, भाद्र १२ गते ९ हजार लि. र भाद्र १३ गते ९ हजार लिटर गरि हाल सम्म ४० हजार ८४० लिटर हवाई इन्धन पठाइसकेको र सो रिफूलिङ्ग कार्य नियमित भइरहेको छ।
निगमको थानकोट स्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रहरुमा हाल सञ्चालनमा रहेका पेट्रोल पम्पहरुलाई भाद्र १३ गते सम्ममा पेट्रोल ७२ हजार लिटर र डिजल ६२ हजार लिटर उपलब्ध गराइएको तथा माग बमोजिम सार्वजनिक विदाका दिनमा समेत पेट्रोल र डिजलको विक्री वितरणको व्यवस्था मिलाएको निगमले जनाएको छ।


