बाढीले बगाएर ल्याएको शवबाट सुनका गहना चोरी गर्ने दुई जनालाई चितवन प्रहरिले गर्‍यो पक्राउ

एटुजेड समाचार

काठमाडौं – विपद्का समयमा लुटपाट तथा अमानवीय गतिविधि गर्ने व्यक्तिमाथि कडा निगरानी राख्दै तत्काल पक्राउ गर्ने नीति चितवन प्रहरीले अघि बढाएको छ। भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर ल्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको छ।

२०८३ भदौ १० गते तिब्बतबाट भीषण पहिरोसहित भोटेकोशी नदीमा आएको बाढीले बगाएर ल्याएको शवबाट कानको मुन्द्रा निकाल्दै गरेको भिडियो सार्वजनिक भएपछि चितवन प्रहरीले घटनाको अनुसन्धान थालेको थियो।

भिडियोको अनुसन्धान गर्ने क्रममा शवबाट सुनको मुन्द्रा तान्ने कार्यमा संलग्न देखिएका दुई जनालाई २०८३ भदौ ११ गते भरतपुर महानगरपालिका–१, पोखरा बसपार्क नजिकबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ।

पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीला चोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्क, सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।

चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट वा अमानवीय गतिविधि सह्य नहुने बताएका छन्। यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि तत्काल अनुसन्धान गरी कानुनी दायरामा ल्याउने गरी प्रहरी परिचालन गरिएको उनको भनाइ छ।

भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको व्यवस्थापन र पहिचानको काम तीव्र रूपमा भइरहेको अवस्थामा मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारमा थप पीडा सिर्जना गर्ने भन्दै प्रहरीले यस्ता गतिविधि रोक्न कडाइ गरेको जनाएको छ।

प्रहरीले विपद्का समयमा लुटपाट, चोरी तथा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण भेटिए तत्काल प्रहरीलाई सूचना दिन समेत आग्रह गरेको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु