चितवन – त्रिशूली र नारायणी नदीमा बाढीपछि बगेर आएका शव तथा मानव शरीरका अंग भेटिने क्रम बढ्दै गएपछि चितवनमा शव व्यवस्थापनमा चुनौती थपिएको छ। भरतपुर अस्पतालको शवगृहमा शव राख्ने ठाउँ अभाव भएपछि जिल्ला प्रशासनले छुट्टै कोल्ड स्टोर बनाएर शव व्यवस्थापन गर्ने तयारी थालेको छ।
तिब्बतबाट भोटेकोशी नदी हुँदै आएको बाढी तथा पहिरोका कारण त्रिशूली र नारायणी नदीमा हालसम्म ६४ वटा शव तथा मानव शरीरका विभिन्न अंग फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवलाई पहिचान तथा पोस्टमार्टमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिँदै आएको थियो। तर शवको संख्या बढ्दै गएपछि अस्पतालको शवगृहमा ठाउँ अभाव भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शवगृहमा थप शव राख्ने ठाउँ नभएपछि तनहुँमा भेटिएका नौवटा शव चितवन ल्याइए पनि पुनः तनहुँ नै फिर्ता पठाइएको छ।
चितवनमा आगामी दिनमा थप शव फेला परेमा भरतपुर अस्पतालको शवगृहमा राख्न सक्ने अवस्था नरहेकाले वैकल्पिक व्यवस्थाको तयारी गरिएको प्रहरीले जनाएको छ। आवश्यक परे औद्योगिक प्रतिष्ठानका कार्यालय तथा अन्य सरकारी संरचना अस्थायी रूपमा प्रयोग गर्ने तयारीसमेत भइरहेको छ।
यसैबीच, त्रिशूली र नारायणी नदीमा शव तथा मानव शरीरका अंग भेटिने क्रम बढेपछि जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा खोजी तथा निगरानीलाई तीव्रता दिएका छन्। नारायणी नदी किनारमा एकै स्थानमा चारदेखि पाँच वटासम्म शव भेटिन थालेपछि शव व्यवस्थापन थप चुनौतीपूर्ण बनेको सुरक्षा अधिकारीहरूले बताएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार जिल्लामा हाल करिब ५० वटा शव मात्रै व्यवस्थापन गर्न सकिने क्षमता रहेको छ। शव राख्ने ठाउँ अभाव भएपछि प्रयोगमा नरहेको सरकारी भवनमा छुट्टै कोल्ड स्टोर निर्माण गरी शव व्यवस्थापन गर्ने तयारी गरिएको हो।
प्रशासनले सम्भावित रूपमा थप शव फेला पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै तत्काल वैकल्पिक व्यवस्थापनको काम अघि बढाएको जनाएको छ। फेला परेका शवको पहिचान, पोस्टमार्टम तथा सम्बन्धित परिवारसम्म पुर्याउने प्रक्रिया भने सुरक्षा निकाय र प्रशासनको समन्वयमा अघि बढाइने बताइएको छ।


