चितवनमा त्रिशूली र नारायणी नदीमा भेटिएका शवको संख्या बढ्दै गएपछि भरतपुर अस्पतालको शवगृहमा ठाउँको अभाव भएको छ।
तिब्बतबाट भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदीमा हालसम्म ६४ वटा शव तथा शरीरका विभिन्न अङ्ग भेटिएका छन्। भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिँदै आए पनि शवको संख्या बढेपछि व्यवस्थापनमा समस्या भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शवगृहमा थप शव राख्ने ठाउँ नभएपछि तनहुँमा भेटिएका नौ शव चितवन ल्याइए पनि पुनः तनहुँ नै फिर्ता पठाइएको छ।
अब चितवनमा भेटिने शवलाई भरतपुर अस्पतालको शवगृहमा राख्न नसक्ने अवस्था आएपछि औद्योगिक प्रतिष्ठानका कार्यालयमा अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, जिल्लास्थित तीनवटै सुरक्षा निकायले त्रिशूली र नारायणी नदीका किनारमा शव तथा शरीरका अङ्ग खोज्ने कार्यलाई तीव्रता दिएका छन्।


