भोटेकोशी बाढीको वितण्डा : मृत्यु हुनेको संख्या ९५ पुग्यो, ६३ घाइते

एटुजेड समाचार

काठमाडौँ। रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ। नेपाल प्रहरीले साँझ ५ः४५ बजेसम्म विभिन्न जिल्लामा गरी ९५ जनाको शव फेला परेको जनाएको छ।

प्रहरीका अनुसार रसुवामा एक पुरुषको शव फेला परेको छ। नुवाकोटमा पाँच महिला र छ पुरुष गरी ११ जनाको मृत्यु भएको पुष्टि भएको छ। धादिङमा ११ महिला, पाँच पुरुष र पहिचान नखुलेका दुई जनासहित १८ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

त्यस्तै, गोरखामा एक महिला, चार पुरुष, एक बालक र पहिचान नखुलेका १० जनाको शव फेला परेको छ। चितवनमा १० महिला, १० पुरुष, दुई बालिका, तीन बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ।

तनहुँमा तीन पुरुष, एक बालिका र एक बालक गरी पाँच जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा आठ पुरुष र तीन बालिकाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीमा परी घाइते भएका ६३ जनाको उद्धार गरी विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा २१ जना, राष्ट्रिय ट्रमा सेन्टरमा सात जना, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा एक जना, रसुवा अस्पतालमा २१ जना, त्रिशूली अस्पतालमा १६ जना, नर्भिक अस्पतालमा तीन जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, बाढीपछि रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, मैलुङ, वेत्रावती र हाकु क्षेत्रमा खटिएका केही प्रहरी सम्पर्कविहीन भएका छन्। प्रहरीका अनुसार टिमुरेबाट १० जना, स्याफ्रुबेँसीबाट तीन जना, मैलुङबाट पाँच जना, वेत्रावतीबाट एक जना र हाकुबाट दुई जना प्रहरी सम्पर्कविहीन रहेका छन्। रसुवागढीबाट पनि प्रहरी सम्पर्कविहीन भएको विवरण प्राप्त भएको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। नदी आसपासका बस्ती तथा पूर्वाधारमा समेत व्यापक क्षति पुगेको प्रहरीले जनाएको छ। बेपत्ता तथा प्रभावितको खोजी, उद्धार र राहत कार्यलाई तीव्रता दिइएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु