टप एन्ड टी–२० : होबार्टमाथि नेपालको फराकिलो जित

एटुजेड समाचार

अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिज अन्तर्गतको १२औँ खेलमा नेपालले होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको छ।

डार्बिनस्थित मररारा क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न रात्रि खेलमा नेपालले प्रस्तुत गरेको १५५ रनको विजयी लक्ष्य पछ्याएको होबार्ट हरिकेन्स एकेडेमी १८.३ ओभरमा मात्र ११५ रन जोड्दा अलआउट भयो।

होबार्टलाई सस्तैमा समेट्न नेपालका बलरहरूले कसिलो प्रदर्शन गरे। नेपालका लागि नारायण जोशीले उत्कृष्ट बलिङ गर्दै २ ओभरमा मात्र ८ रन खर्चेर ३ विकेट लिए।

यस्तै, पवन सर्राफले ४ ओभरमा १६ रन दिएर २ विकेट तथा शाहब आलमले ३.३ ओभरमा १७ रन खर्चेर २ विकेट हात पारे। विपिन खत्रीको नाममा १ विकेट रह्यो भने नेपालले दुई ब्याटरलाई रनआउट गरेको थियो।

होबार्टका लागि नितेश साम्युलले सर्वाधिक ३७ रन बनाए। उनले ३२ बलमा १ चौका र २ छक्का प्रहार गरे। यस्तै टिम वार्डले १८ बलमा २३ रन र कप्तान निवेथन राधाकृष्णनले २१ बलमा २० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कप्तान तथा विकेटकिपर अनिल साहको नेतृत्वमा रहेको नेपाली टोलीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५४ रनको मध्यम योगफल तयार पारेको थियो।

नेपालका लागि कुशल भुर्तेलले ३४ बल खेल्दै ६ चौकाको मद्दतमा सर्वाधिक ३९ रनको योगदान दिए। ओपनर मयान यादवले २५ बलमा ४ चौकासहित ३१ रन बनाए भने कप्तान अनिल साहले २१ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २८ रन जोडे।

तल्लो क्रममा लोकेश बमले १६ बलमा अविजित २० रन र त्रितराज दासले ६ बलमा १० रन बनाए। विपिन खत्रीले २, नारायण जोशीले ४, पवन सर्राफले ३, युवराज खत्रीले १ तथा शाहब आलमले अविजित १ रन जोड्दा नेपालले अतिरिक्त स्वरूप १५ रन प्राप्त गरेको थियो।

होबार्ट हरिकेन्स एकेडेमीका बलर राफ म्याकमिलनले किफायती बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट लिए। त्यस्तै मार्कस बिनले २ तथा ब्राड्ली होप र निवेथन राधाकृष्णनले १-१ विकेट हात पारेका थिए।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु