स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको ट्रम्पको दाबी

काठमाडौं –  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै महत्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुज अमेरिकी क्षेत्र भएको दाबी गरेका छन् । दक्षिण क्यारोलिनाको मर्टल बीचमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले स्ट्रेट अफ होर्मुजलाई अहिले आफूले ‘अमेरिकी क्षेत्र’ का रूपमा हेर्ने बताएका हुन् ।

सम्बोधनका क्रममा उनले इरानले अमेरिकासँग सम्झौता गर्न चाहेको दाबी गर्दै कुनै पनि हालतमा उसलाइ परमाणु हतियार बनाउन नदिने बताएका छन् । उनले भने, ‘हामी इरानलाई परमाणु हतियार बनाउन दिन सक्दैनौँ । यदि त्यसो भयो भने धेरै खराब परिणाम देख्नु पर्नेछ ।’

उनले अमेरिकाले होर्मुज क्षेत्रमा ‘पूर्ण नियन्त्रण’ गरेको दाबी गर्दै, ‘म अहिले स्ट्रेट अफ होर्मुजलाई अमेरिकी क्षेत्रका रूपमा हेर्छु,‘ भने । यसअघि संयुक्त आधार एन्ड्र्युजमा पत्रकारसँग कुरा गर्दै ट्रम्पले अमेरिकाको नाकाबन्दीका कारण उक्त क्षेत्रमा पूर्ण नियन्त्रण रहेको र होर्मुजलाई अमेरिकी क्षेत्र घोषणा गर्ने विचारलाई समर्थन गरेको बताएका थिए ।

यद्यपी, ट्रम्पको दाबीलाई इरानले भने अस्वीकार गरेको छ । इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले ट्रम्पको भनाइलाई ‘भ्रम’ को संज्ञा दिँदै परिस्थितिले वा इरानले नै त्यसलाई सच्याउने चेतावनी दिएका छन् । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले पनि ट्रम्पको अभिव्यक्तिको आलोचना गर्दै अमेरिकाले होर्मुज खोल्न नसक्ने अवस्था र त्यसको स्वामित्व दाबी गर्ने कुरा बीच ‘७ हजार माइलभन्दा ठूलो दूरी’ रहेको टिप्पणी गरेका छन् ।

विश्वको ठूलो परिमाणको तेल तथा ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुजलाई लिएर पछिल्ला दिनमा वासिङ्टन र तेहरानबीच तनाव बढ्दै गएको छ । ट्रम्पले हालै इरानविरुद्ध ‘इतिहासकै सबैभन्दा कठोर अभियान’ सञ्चालन गरेको दाबी गर्दै तेहरानलाई आर्थिक वा सरकारी सहयोग गर्ने मुलुकलाई पनि कडा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए ।

यता इरानी संसद्का सभामुख मोहम्मद बाघेर घालिबाफले अमेरिकाले १४ बुँदे समझदारीअनुसार नाकाबन्दी हटाउने, रोकिएका इरानी सम्पत्ति फुकुवा गर्ने र तेल प्रतिबन्ध खुकुलो बनाउने प्रतिबद्धता पूरा नगरेसम्म स्ट्रेट अफ होर्मुज पुनः पूर्ण रूपमा नखोलिने बताएका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु