काठमाडौँ : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफ्नो नेतृत्व र अनुहारका कारण पार्टीले अपेक्षित मत प्राप्त गर्न नसकेको भनी भइरहेको आलोचनाप्रति टिप्पणी गरेका छन्।
सोमवार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले असन्तुष्ट पक्षलाई विशेष महाधिवेशनमार्फत नेतृत्वको विकल्प खोज्न चुनौती दिए।
सभापति थापाले गगन थापाको अनुहार देखाएकै कारण काग्रेसले मत नपाएको हो भन्ने निष्कर्ष हो भने अर्को उम्मेदवार खडा गरेर आफूलाई नेतृत्वबाट हटाउन समेत चुनौती दिए।
थापाले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व परिवर्तन गरी पार्टीको बागडोर सम्हाल्न असन्तुष्ट पक्षलाई आह्वान गरे।
उनले पार्टीको अधिवेशनलाई समावेशी, न्यायपूर्ण र निष्पक्ष बनाउनका लागि आफू जुनसुकै शर्त र प्रक्रियामा छलफल गर्न तयार रहेको स्पष्ट पारे।


