काठमाडौँ – नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ।
कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो।
आव २०८१/८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा छ अर्ब ६७ लाख थियो। एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो। कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ।
गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा नौ अर्ब ८५ करोड दुई लाख थियो। यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो।
त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा १८ अर्ब ४९ करोड ६० लाख आम्दानी भएको थियो।
तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा रु ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ।
अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय ३३ अर्ब ८९ करोड ४५ लाख थियो। अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो।
कम्पनीको कुल आयसमेत बढेको छ। समीक्षा अवधिमा कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ। अघिल्लो आवको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो।
यसअनुसार कुल आय एक अर्ब एक करोड १५ लाख अर्थात् दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो। कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) ४९ दशमलव २५ रहेको छ।


