गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न यतिबेला गृहजिल्ला गोरखामा छन्। आफ्नो निर्वाचन क्षेत्र गोरखा–१ का नागरिकका घरदैलोमा पुगी उनले स्थानीयस्तरमा भइरहेका विकास गतिविधि, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा छलफल गरेका हुन्।
शुक्रबार गोरखा आइपुग्नुभएका गृहमन्त्री गुरुङले विकास आयोजनाको अनुगमनसहित जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिएको प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले बताए। “गृहमन्त्रीको कुनै औपचारिक कार्यक्रम छैन, निर्वाचन क्षेत्र भ्रमणका सिलसिलामा आउनुभएको हो”, उनले भने, “नागरिकसँग प्रत्यक्ष भेटघाट र संवाद गरिरहनुभएको छ।”
शनिबार भीमसेन थापा गाउँपालिकाका स्थानीयवासीले सुकुमवासी व्यवस्थापन, नदी डुबानको समस्यालगायत विषय उठाएका थिए। गृहमन्त्री गुरुङले स्थानीयवासीका समस्या र गुनासा समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका थिए। सडक पूर्वाधार, खानेपानी, विद्युत्, सुरक्षा, रासायनिक मल अभाव, विपद् व्यवस्थापन, सार्वजनिक सेवा प्रवाहलगायत विषयमा गृहमन्त्री गुरुङ र स्थानीयवासीबीच छलफल भएको थियो।
भेटघाटका क्रममा उनले नागरिकले भोग्दै आएका समस्या पहिचान गरी सम्बन्धित निकार्यमार्फत यथाशक्य छिटो समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। गृहमन्त्री गुरुङले शान्ति सुव्यवस्था कायम गर्दै राज्यका सेवासुविधा छिटो, छरितो र पारदर्शी ढङ्गले नागरिकसम्म पुर्याइने बताए। गृहमन्त्री गुरुङ आइतबारसम्म आफ्नो निर्वाचन क्षेत्रमा रहने जनाइएको छ।


