चितवनमा बाल्यकाल बिताएका विश्वलाई चकित पार्ने साहसी आरोही निर्मल पुर्जा, जो ब्रोड पिकमा अस्ताए

एटुजेड समाचार

काठमाडौँ – साहसिक पर्वता रोहणको क्षेत्रमा ‘नथिङ इज इम्पोसिबल’ भन्ने नारालाई विश्वभर स्थापित गरेका विश्वविख्यात आरोही निर्मल पुर्जा ‘निम्स दाइ’ को पाकिस्तानको ब्रोड पिक हिमालमा आएको हिमपहिरोमा परी निधन भएको छ। उनी संस्थापक रहेको आरोहण कम्पनी ‘इलाइट एक्सपेड’ ले शनिबार यसको आधिकारिक पुष्टि गरेसँगै सिङ्गो पर्वतारोहण जगत स्तब्ध बनेको छ।

गत बिहीबार ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको भीषण हिमपहिरोमा पुर्जाको नेतृत्वमा रहेको १० सदस्यीय टोली परेको थियो। सोही दुर्घटनामा पुर्जाका भरपर्दा सहयात्री एवं गाइडहरू पुर बहादुर गुरुङ (युक्ता) र निमा शेर्पाको पनि निधन भएको छ।

निर्मल पुर्जाको जन्म म्याग्दी जिल्लाको विकट दाना गाउँमा भएको हो। भूपू सैनिक परिवारमा जन्मिएका उनको बाल्यकाल र प्रारम्भिक शिक्षा भने चितवनमा वित्यो। सानैदेखि केही फरक र साहसिक काम गर्ने रुचि भएका पुर्जा सन् २००३ मा १८ वर्षको उमेरमा ब्रिटिस गोर्खा सैनिकमा छनोट भएका थिए ।

गोर्खा राइफल्समा ६ वर्ष सेवा गरेपछि उनले अर्को इतिहास रचे— ब्रिटिस रोयल नेभीको अत्यन्तै कठिन र प्रतिष्ठित विशेष सैन्य टोली ‘स्पेशल बोट सर्भिस’ मा प्रवेश पाउने उनी पहिलो नेपाली बने। सैन्य सेवाका क्रममा अफगानिस्तानको खतरनाक युद्ध मैदानमा १६ वर्ष बिताएका उनले सैन्य कौशल र कठोर अनुशासनलाई आत्मसाथ गरे। उनको असाधारण सैन्य योगदानको कदर गर्दै सन् २०१८ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले उनलाई ‘एमबीई’ बाट सम्मानित गरेकी थिइन्।

हिमालको तीव्र मोहका कारण सन् २०१८ मा १६ वर्ष लामो सफल सैन्य करिअरबाट राजीनामा दिँदै उनले पर्वतारोहणमा पाइला टेकेका थिए । सन् २०१९ मा उनले ‘प्रोजेक्ट पोसिबल १४–७’ सुरु गरे, जसले विश्वलाई नै चकित पारिदियो। मानिसहरूलाई विश्वका ८,००० मिटरभन्दा अग्ला १४ वटा हिमाल चढ्न वर्षौँ लाग्थ्यो, तर पुर्जाले केवल ६ महिना ६ दिनमा ती सबै हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान कायम गरे।

उनको यो साहसिक यात्रामा आधारित नेटफ्लिक्स वृत्तचित्र ‘१४ पिक्स : नथिङ इज इम्पोसिबल’ ले उनलाई विश्वव्यापी चर्चा र पहिचान दिलायो। त्यति मात्र होइन, सन् २०२१ को हिउँदमा आरोहणका लागि असम्भव मानिएको पाकिस्तानको ‘किलर माउन्टेन’ के–टु को पहिलो सफल हिउँदकालीन आरोहण १० जना नेपाली टोलीसँगै गरेर उनले नेपाली पर्वतारोहीको क्षमता विश्वसामु प्रमाणित गरे।

निर्मल पुर्जाको मुख्य ध्येय केवल व्यक्तिगत कीर्तिमान बनाउनु मात्र थिएन। दशकौँदेखि पश्चिमा आरोहीहरूको ‘सहयोगी’ वा ‘भरिया’ का रूपमा मात्र चिनिने नेपाली शेर्पा र आरोहीहरूलाई विश्वको नेतृत्वदायी भूमिकामा स्थापित गर्नु उनको ठुलो सपना थियो। उनले आफ्नो कम्पनी ‘इलाइट एक्सपेड’ मार्फत नेपाली आरोहीहरूको व्यावसायिकता र नेतृत्व क्षमतालाई नयाँ उचाइमा पुर्‍याए।

ब्रोड पिकको त्यो घातक हिमपहिरो

पाकिस्तानको कराकोरम शृङ्खलामा रहेको १२औँ अग्लो हिमाल ब्रोड पिक आरोहणका लागि निकै जोखिमपूर्ण मानिन्छ। बिहीबार मध्याह्नतिर आएको हिमपहिरोले पुर्जाको टोलीलाई चपेटामा पारेको थियो। शनिबार ड्रोन सर्वेक्षणका क्रममा देखिएका शवहरू पहिचान गर्न मिङ्मा ग्याल्जे शेर्पा र सिरबाज खानको टोली परिचालित भएको थियो।

अन्ततः इलाइट एक्सपेडले फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अत्यन्तै गहिरो दुख र हृदयविदारक पीडाका साथ हामी यो पुष्टि गर्दछौँ कि ब्रोड पिकमा आएको हिमपहिरोमा परी निर्मल ‘निम्सदाइ पुर्जाले ज्यान गुमाउनुभएको छ। हामी यो त्रासदीमा ज्यान गुमाउने उहाँका सहयात्री र गाइडहरू युक्ता र निमा शेर्पाप्रति पनि शोक व्यक्त गर्दछौँ।’

मृत्युलाई कैयौँ पटक नजिकबाट जितेर फर्किएका निम्स दाइ यसपटक भने ब्रोड पिकको हिउँमा सधैँका लागि अस्ताएका छन्। तर उनले पर्वतारोहणको क्षेत्रमा छोडेर गएका कीर्तिमान र ‘संसारमा केही पनि असम्भव छैन’ भन्ने सन्देशले आगामी पुस्ताका आरोहीहरूलाई सधैँ प्रेरणा दिइरहनेछ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु