नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्वकीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स दाइ) को पाकिस्तानको ब्रोड पिक हिमालबाट आएको दुःखद खबरले आफू मर्माहत भएको उनले बताएका छन्।
सामाजिक सञ्जालमार्फत थापाले ‘प्रोजेक्ट पोसिबल’ सुरु हुनुअघि नै आफूले निर्मल पुर्जासँग भेटेको र त्यतिबेला संसारले उनको नाम नचिनेको भए पनि असम्भवलाई सम्भव बनाउने दृढ संकल्प उनमा देखिएको बताएका छन्।
थापाले आफूलाई निर्मल पुर्जा सधैंझैँ सुरक्षित रूपमा फर्कने विश्वास गरेको भन्दै उनको निधनले नेपाल मात्र नभई विश्व पर्वतारोहण समुदायले एक प्रेरणादायी व्यक्तित्व गुमाएको बताएका छन्।
उनले निर्मल पुर्जाको योगदान व्यक्तिगत कीर्तिमानभन्दा पनि नेपाली आरोहीहरूप्रतिको विश्वको दृष्टिकोण परिवर्तन गर्नु रहेको बताउँदै नेपालीहरू केवल विदेशी आरोहण अभियानका सहयोगी मात्र नभई नेतृत्वकर्ता, अग्रदूत र नवप्रवर्तक हुन् भन्ने सन्देश पुर्जाले विश्वसामु स्थापित गरेको बताएका छन्।
‘तिम्रो विरासतले पुस्तौंसम्म नयाँ पुस्ताका आरोहीहरूलाई प्रेरित गरिरहनेछ,’ थापाले शोक सन्देशमा लेखेका छन्।
थापाले ब्रोड पिक दुर्घटनामा ज्यान गुमाएका पूर्णबहादुर ‘युक्ता’ गुरुङ, किली पेम्बा ‘किलु’ शेर्पा, निमा शेर्पा, नवाङ थिन्दु शेर्पा, ग्यालु शेर्पा, सोहेल साखी, म्यालोरी गेइस, नाधिरा अल हार्थी र वाङ झोङलाई पनि श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रत्येक नामको पछाडि साहस, त्याग र सपनाले भरिएको जीवन रहेको समेत उल्लेख गरेका छन्।


