भिड थामेका भट्टराई अब पर्सा सम्हाल्दै

काठमाडौँ – राजधानीको सडकमा आन्दोलनको भिड उर्लिँदा होस् वा सुरक्षा अवस्था चुनौतीपूर्ण बन्दा, प्रहरीको अग्रपंक्तिमा देखिने नाम हो प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराई। भिड नियन्त्रणदेखि सुरक्षा व्यवस्थापन, फिल्ड कमान्डदेखि अपराध अनुसन्धानसम्मको अनुभव बोकेका भट्टराईलाई अब मुलुककै संवेदनशील जिल्लामध्ये एक मानिने पर्सा प्रहरीको नेतृत्व सुम्पिएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत एसपी भट्टराईलाई पर्सा जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी दिएर पठाइएको हो। उनको सरुवालाई प्रहरी संगठनभित्र सामान्य प्रशासनिक फेरबदलभन्दा पनि चुनौतीपूर्ण जिल्लामा अनुभवी र फिल्डमा खरो उत्रिन सक्ने अधिकृतको छनोटका रूपमा हेरिएको छ।

भट्टराईको परिचय केवल कार्यालयमा बसेर निर्देशन दिने प्रहरी अधिकृतको मात्रै होइन। उनी फिल्डमा आफैँ उपस्थित भएर कमान्ड सम्हाल्ने प्रहरी अधिकृतका रूपमा चिनिन्छन्। काठमाडौँमा हुने ठूला र्‍याली, विरोध प्रदर्शन तथा तनावपूर्ण सुरक्षा परिस्थितिमा उनी अग्रपंक्तिमा देखिने गरेका छन्। आन्दोलनकारीको मनोविज्ञान बुझेर परिस्थितिलाई नियन्त्रणमा लिन सक्ने, सुरक्षा घेरा तत्काल व्यवस्थित गर्न सक्ने र आवश्यकताअनुसार प्रहरी परिचालन गर्ने उनको कार्यशैलीलाई प्रहरी वृत्तमा प्रभावकारी मानिन्छ।

काठमाडौँका सडकमा आन्दोलनको ताप बढ्दा प्रहरी नेतृत्वका लागि सबैभन्दा ठूलो चुनौती हुन्छ भीडलाई नियन्त्रणमा राख्नु, स्थिति बिग्रिन नदिनु र सम्भावित हिंसालाई रोक्नु। यही कठिन परिस्थितिमा फिल्ड कमान्ड सम्हाल्ने अधिकृतका रूपमा भट्टराईले आफ्नो भूमिका निर्वाह गर्दै आएका छन्। उनका बारेमा प्रहरी वृत्तमा एउटा धारणा छ परिस्थिति जति जटिल बन्दै जान्छ, उनको फिल्ड कमान्ड त्यति नै निर्णायक बन्छ। आन्दोलनकारीलाई तत्काल नियन्त्रणमा ल्याउन सक्ने, भीडको दिशा बदलिनुअघि नै सुरक्षा रणनीति तय गर्न सक्ने र आवश्यक पर्दा कडा रूपमा प्रस्तुत हुन सक्ने अधिकृतका रूपमा पनि भट्टराईको चर्चा हुने गरेको छ। यही कारण उनलाई ‘फ्रन्टलाइन कमान्डर’का रूपमा समेत हेरिने गरिएको छ।

उनको अनुभवको अर्को महत्वपूर्ण पक्ष हो सुरक्षा संकट व्यवस्थापन। जेनजी आन्दोलनपछि काठमाडौँको सुरक्षा अवस्था अत्यन्तै चुनौतीपूर्ण बनेको समयमा राजधानीमा शान्ति सुरक्षा कायम गर्नु प्रहरीका लागि निकै कठिन जिम्मेवारी बनेको थियो। सडकमा असन्तुष्टि, प्रदर्शन र तनावको अवस्था कायम रहँदा सुरक्षा संयन्त्रमाथि ठूलो दबाब थियो। यस्तो संवेदनशील समयमा अनुभवी फिल्ड अधिकृतको भूमिका महत्वपूर्ण मानिन्छ। त्यही सुरक्षा चुनौतीपूर्ण परिवेशपछि भट्टराईलाई पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीमा पठाइएको थियो। तर पाल्पा पुगेको केही समयमै पुनः काठमाडौँको सुरक्षा व्यवस्थापनका लागि उनलाई बोलाइएको प्रसंगले पनि उनको फिल्ड अनुभव र कमान्डिङ क्षमतामाथि प्रहरी नेतृत्वको भरोसा रहेको संकेत गर्नेहरू बताउँछन्।

एकातिर आन्दोलन नियन्त्रणको अनुभव, अर्कोतिर सुरक्षा अपरेसन र अपराध अनुसन्धानको दक्षता,भट्टराईको प्रोफाइल यही मिश्रणका कारण फरक देखिन्छ। प्रहरी संगठनभित्र उनी अपरेसन, फिल्ड कमान्ड, भिड नियन्त्रण र अपराध अनुसन्धानमा अनुभवी अधिकृतका रूपमा परिचित छन्। सुरक्षा अवस्था मूल्याङ्कन गरेर तत्काल निर्णय लिन सक्ने, प्रहरी जनशक्तिलाई प्रभावकारी रूपमा परिचालन गर्न सक्ने र घटनास्थलमै पुगेर नेतृत्व गर्न सक्ने क्षमताका कारण उनलाई चुनौतीपूर्ण जिम्मेवारीका लागि उपयुक्त अधिकृत मानिन्छ।

अब त्यही अनुभवको परीक्षा पर्सामा हुनेछ।
पर्सा सामान्य जिल्ला होइन। सुनसरीमा देखिएको पछिल्लो घटनाको प्रभाव वीरगञ्जसम्म पनि देखिन थालेको छ। पछिल्लो समय वीरगञ्जमा समेत विरोध र प्रदर्शनका गतिविधि बढिरहेका बेला हिजो मात्रै ठूलो संख्यामा मसाल जुलुस निस्किएको घटनाले पनि सुरक्षा चुनौती थप संवेदनशील बनेको संकेत गरेको छ।

यस्तो अवस्थामा पर्सा प्रहरीको नेतृत्व सम्हाल्न पुगेका एसपी पवन भट्टराईका लागि चुनौती केवल नियमित शान्ति सुरक्षा कायम राख्नुमा सीमित रहने छैन। सम्भावित आन्दोलन, विरोध प्रदर्शन र त्यसले निम्त्याउन सक्ने सुरक्षा जोखिमलाई समयमै पहिचान गर्दै संयमित तर प्रभावकारी ढंगले व्यवस्थापन गर्नु उनको प्रमुख जिम्मेवारी बन्नेछ।

विशेषगरी बाहिरी जिल्लामा देखिएको असन्तुष्टि र आन्दोलनको प्रभाव वीरगञ्जजस्तो महत्वपूर्ण शहरमा फैलिन नदिन सुरक्षा संयन्त्रले अत्यन्तै संवेदनशील भएर काम गर्नुपर्ने देखिन्छ। आन्दोलनलाई दबाउनेभन्दा पनि परिस्थितिलाई थप तनावपूर्ण बन्न नदिने, संवाद र समन्वय कायम राख्ने तथा कानुनको दायराभित्र रहेर सुरक्षा व्यवस्थापन गर्ने चुनौती नयाँ प्रहरी प्रमुखसामु हुनेछ।

साथै भारतसँगको खुला सीमा, सीमा अपराध, तस्करी, संगठित अपराध, राजनीतिक गतिविधि, सम्भावित प्रदर्शन तथा विभिन्न सुरक्षा चुनौतीका कारण पर्सालाई देशका संवेदनशील जिल्लामध्ये एक मानिन्छ। यस्तो जिल्लामा प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नु आफैँमा ठूलो चुनौती हो। यहाँ प्रहरी प्रमुखले केवल अपराध नियन्त्रण गरेर पुग्दैन; सीमा सुरक्षा, तस्करी नियन्त्रण, संगठित अपराधमाथिको निगरानी, राजनीतिक तथा सामाजिक तनाव व्यवस्थापन र शान्ति सुरक्षा कायम राख्ने जिम्मेवारीसमेत एकसाथ सम्हाल्नुपर्छ।

यही कारण पनि पर्साको प्रहरी प्रमुखका रूपमा पवन भट्टराईको आगमनलाई चासोका साथ हेरिएको छ।काठमाडौँका सडकमा आन्दोलनको भिडसँग जुधिसकेका, राजधानीको सुरक्षा संकटमा फिल्ड कमान्ड सम्हालिसकेका र अपरेसन तथा अनुसन्धानको अनुभव बोकेका अधिकृतलाई अहिले पर्साजस्तो संवेदनशील जिल्लामा पठाइनुले प्रहरी नेतृत्वले उनीबाट ठूलो अपेक्षा राखेको संकेतका रूपमा बुझ्न पनि सकिन्छ।

भट्टराईको कार्यशैलीलाई नजिकबाट बुझ्नेहरूका अनुसार उनी परिस्थितिलाई केवल कार्यालयको रिपोर्टबाट होइन, फिल्डमै पुगेर मूल्याङ्कन गर्ने अधिकृत हुन्। सुरक्षा चुनौती देखिएपछि निर्णय लिन ढिलाइ नगर्ने र आवश्यक पर्दा आफैँ अग्रपंक्तिमा उभिएर कमान्ड गर्ने शैली उनका बलिया पक्षका रूपमा लिइन्छ।

तर पर्साको चुनौती काठमाडौँको आन्दोलनभन्दा फरक छ।

काठमाडौँमा भीड नियन्त्रण तत्काल देखिने चुनौती हो भने पर्सामा सीमा अपराध र संगठित अपराधको जालो गहिरो हुन सक्छ। यहाँ प्रहरी प्रमुखको वास्तविक परीक्षा सडकमा होइन, अपराधको नेटवर्कसम्म पुगेर त्यसलाई तोड्न सक्ने क्षमतामा हुनेछ। तस्करीको संरचना भत्काउने, अपराधी समूहलाई कानुनी दायरामा ल्याउने र प्रहरी संगठनभित्रैबाट प्रभावकारी अपरेसन सञ्चालन गर्ने सवालमा उनको नेतृत्व निर्णायक बन्ने देखिन्छ।

प्रहरी संगठनभित्र उनलाई ‘सर्वोत्कृष्ट एसपी’ भनेर प्रशंसा गर्नेहरू पनि छन्। यद्यपि यस्तो मूल्याङ्कन व्यक्तिगत धारणा र कार्यसम्पादनप्रतिको आकलनमा आधारित हुने भएकाले यसको वास्तविक मापन भने उनको कार्यकालमा देखिने परिणामले नै गर्नेछ। अब पर्सामा उनको अगाडि चुनौतीको लामो सूची छ। सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधिदेखि संगठित अपराधसम्म, सम्भावित आन्दोलनदेखि शान्ति सुरक्षासम्म हरेक मोर्चामा उनको नेतृत्व परीक्षण हुनेछ।

काठमाडौँको सडकमा भिड नियन्त्रण गर्न सक्ने कमान्डर हुनु एउटा कुरा हो, तर पर्साको जटिल सुरक्षा संरचना र अपराधको नेटवर्कलाई नियन्त्रणमा लिन सक्नु अर्को ठूलो परीक्षा हो। त्यसैले पवन भट्टराईको पर्सा सरुवा अहिले केवल एउटा प्रहरी अधिकृतको सरुवा मात्र होइन, चुनौतीपूर्ण जिल्लामा चुनौतीपूर्ण जिम्मेवारीका लागि अनुभवी कमान्डरको छनोटका रूपमा हेरिएको छ।

पर्सामा चुनौती कम छैन, र त्यो चुनौती सामना गर्ने जिम्मेवारी पनि सामान्य अधिकृतको हातमा छैन।आन्दोलनको भिडदेखि सुरक्षा संकटसम्म कमान्ड सम्हालिसकेका एसपी पवन भट्टराई अब पर्साको मैदानमा छन्।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु