नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा फर्नेस आयलको ट्यांकीमा आगलागी हुँदा करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको क्षति भएको छ।
उद्योग परिसरभित्र रहेको फलाम पगाल्ने इन्जिनमा प्रयोग हुने २ लाख लिटर क्षमताको फर्नेस आयल ट्यांकीमा बिहीबार बिहान करिब १:३० बजे सर्ट सर्किट भई एक्कासि आगलागी भएको हो।
घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। नेपाल प्रहरी, स्थानीयवासी तथा दमकलको संयुक्त प्रयासमा बिहान करिब २:३० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
आगलागीबाट भौतिक क्षति भए पनि कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


