संयुक्त विद्यार्थी संगठनद्वारा देवघाटमा प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालन

एटुजेड समाचार

देवघाट, चितवन – पवित्र श्रावण महिनामा देवघाटधाममा दर्शन तथा पवित्र स्नानका लागि हजारौँ श्रद्धालु पुग्ने भएकाले उनीहरूको स्वास्थ्य सुरक्षा, सहज सेवा र आवश्यक सहयोगलाई प्राथमिकतामा राख्दै संयुक्त विद्यार्थी संगठन, चितवन ले प्राथमिक उपचार केन्द्र तथा हेल्प डेस्क सञ्चालनमा ल्याएको छ।

श्रावण महिनाको प्रत्येक सोमबार सञ्चालन हुने यस सेवामूलक अभियानमार्फत देवघाट आउने श्रद्धालुहरूलाई आकस्मिक स्वास्थ्य समस्या परेमा तत्काल प्राथमिक उपचार, सामान्य स्वास्थ्य सेवा तथा आवश्यक जानकारी निःशुल्क उपलब्ध गराइने जनाइएको छ।

भीडभाडका बेला हुने सामान्य स्वास्थ्य समस्या तथा आकस्मिक अवस्थालाई ध्यानमा राखेर सेवा केन्द्र सञ्चालन गरिएको आयोजकले जनाएको छ।

यस अभियानमा मनकामना हस्पिटल ले स्वास्थ्य सेवा उपलब्ध गराउँदै सहकार्य गरेको छ भने जिल्ला प्रहरी कार्यालय, चितवन र देवघाट टोल विकास संस्था ले सुरक्षा, व्यवस्थापन तथा आवश्यक समन्वयमा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्।

संयुक्त विद्यार्थी संगठन, चितवनका अनुसार यो अभियानले देवघाट आउने श्रद्धालुहरूको यात्रा थप सुरक्षित, सहज र व्यवस्थित बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सामाजिक उत्तरदायित्व र सेवाभावलाई केन्द्रमा राखेर सञ्चालन गरिएको यस कार्यक्रमले धार्मिक पर्यटन तथा श्रद्धालुको सुविधामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु