चितवन – दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिता असोजमा हुने भएको छ । प्रतियोगिता असोज १६ र १७ गते हुने भएको हो । मिस्टर चितवन शारीरिक सुगठन, प्रथम पुरुष स्पोर्टस फिजिक्स तथा दोस्रो महिला एथ्लेटिक्स फिजिक्स प्रतियोगिता भरतपुरस्थित सिएमटी रिसोर्टमा हुनेछ । दुई दिन चल्ने प्रतियोगितामा विभिन्न ९ विधामा प्रतिस्पर्धा हुनेछ । मिस्टर चितवनतर्फ ५५, ६०, ६५, ७०, ७५ र ७५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
४० वर्षमाथि मास्टर वेटसँगै पुरुष स्पोर्टस् फिजिक्स खुला र महिला एथ्लेटिक्स फिजिक्स खुलामा पनि प्रतिस्पर्धा हुने आयोजक चितवन जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष प्रकाश गुरुङले जानकारी दिए । प्रतियोगितामा ७० भन्दा बढी खेलाडीहरु सहभागी हुनेछन् । खेलाडीहरु चितवन जिल्ला भित्रका हुनुपर्नेछ । स्थायी ठेगाना चितवन नभएका खेलाडीको हकमा कम्तीमा ५ वर्षदेखि चितवनमा बसोबास गरिरहेको प्रमाणित हुने गरी वडा कार्यालयको सिफारिस आवश्यक पर्ने गुरुङले बताए ।
मिस्टर चितवन ओभरअलमा विजेताले गोल्ड मेडलसहित एक लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै शारीरिक सुगठनमा विभिन्न तौल समूहका विजेताले २५ हजार, दोस्रोले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । महिला एथ्लेटिक्स फिजिक्स तथा पुरुष स्पोर्टस् फिजिक्सतर्फ विजेताले ३० हजार रुपैयाँ, दोस्रो हुनेले २० तथा तेस्रोले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न २१ लाख खर्च हुने अनुमान गरिएको छ ।
प्रतियोगिताको मिति घोषणासँगै तयारी तीव्र गतिमा भईरहेको छ । विभिन्न समिति बनाएर तयारी अघि बढाईएको संघले जनाएको छ । यस अघि २०८१ मा भएको प्रथम मिस्टर चितवन शारीरिक सुगठन प्रतियोगिताको उपाधि राजकुमार मानन्धरले जितेका थिए।


