दिल्ली मेट्रोका १६ स्टेशन बन्द, संसद् आसपासमा सुरक्षा व्यवस्था कडा

काठमाडौं –  भारतको राजधानी नयाँ दिल्लीमा सुरक्षा व्यवस्था कडा बनाउँदै दिल्ली मेट्रो रेल कर्पोरेसन (डीएमआरसी)ले १६ वटा मेट्रो स्टेशन अस्थायी रूपमा बन्द गरेको छ ।

डीएमआरसीका अनुसार अर्को सूचना नआएसम्म लोक कल्याण मार्ग, राजीव चोक, पटेल चोक, रामकृष्ण आश्रम मार्ग, बाराखम्बा रोड, सर्वोच्च अदालत, सेवा तीर्थ, जनपथ, मण्डी हाउस, केन्द्रीय सचिवालय, आईटीओ, दिल्ली गेट, इन्द्रप्रस्थ, खान मार्केट, जोर बाग र शिवाजी स्टेडियम स्टेशन बन्द रहनेछन् ।

यद्यपि यात्रुको सहजताका लागि राजीव चोक, मण्डी हाउस र केन्द्रीय सचिवालय स्टेशनमा इन्टरचेन्ज सुविधा भने सञ्चालनमा रहने डीएमआरसीले जनाएको छ । भारतको संसद्को मनसुन अधिवेशन चलिरहेका बेला जंतर–मंतर र संसद् भवन आसपासका क्षेत्रमा प्रदर्शनको सम्भावना बढेपछि सुरक्षा सतर्कता बढाइएको हो ।

यसअघि पनि सुरक्षा कारण देखाउँदै डीएमआरसीले जनपथ, राजीव चोक, पटेल चोक, केन्द्रीय सचिवालय र सेवा तीर्थ गरी पाँच स्टेशन बन्द गरेको थियो । संसद् घेराउ गर्ने आह्वानसहित केही समूहले प्रदर्शनको तयारी गरेपछि दिल्ली प्रहरीले सुरक्षा व्यवस्था थप कडा बनाएको हो । प्रदर्शन नियन्त्रणका लागि ¥यापिड एक्सन फोर्स (आरएएफ) का सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ ।

यसैबीच, दिल्ली प्रहरीले संसद् मार्चका लागि कुनै आधिकारिक अनुमति नलिइएको जनाएको छ । प्रहरीले नयाँ दिल्ली जिल्लामा भारतीय नागरिक सुरक्षा संहिता (बीएनएसएस) को धारा १६३ अन्तर्गत निषेधाज्ञा लागू रहेको बताउँदै अनुमति बिना पाँच वा त्यसभन्दा बढी व्यक्तिको जमघट, जुलुस र प्रदर्शनमा रोक लगाइएको जनाएको छ ।

प्रदर्शनकारीहरूले भने जंतर–मंतरमा आन्दोलन जारी राखेका छन् । शिक्षासम्बन्धी अनियमितता, परीक्षा प्रश्नपत्र चुहावटलगायत विषय उठाउँदै सुरु भएको आन्दोलनमा अभियन्ता सोनम वाङचुक पनि सहभागी भएका थिए ।

जुन महिनाबाट सुरु भएको उक्त प्रदर्शनले राष्ट्रिय चर्चा पाएको थियो । आन्दोलनकारीहरूले शिक्षा प्रणालीमा देखिएका कमजोरीको जिम्मेवारी लिनुपर्ने भन्दै केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासमेत माग गरेका छन् ।

शेयर गर्नुहोस्

प्रतिक्रिया दिनुहोस्

अन्य समाचारहरू

लोकप्रिय समाचारहरु